site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निर्माणको एक वर्षमै ‘खरानी’ बनाइदिए हिल्टन

काठमाडौं । जेनजी समूहको आन्दोलन हिंसात्मक बन्दा राजधानीको नक्सालमा रहेको पाँचतारे होटल हिल्टन निसानामा पर्न गयो ।  आगजनी र तोडफोडको शिकार बनेको हिल्टन होटलको अस्तित्व समाप्त पार्ने काम गरियो ।
भदौ २४ मंगलबार भड्किएको हिंसात्मक आन्दोलनले लगानीकर्तालाई ठूलो झस्का दिएको छ । 

अब नेपालमा लगानी गर्ने लगानीकर्ताले कुनै परियोजनामा लगानी गर्नुपूर्व धेरैपटक गम्भीर भएर सोच्नुपर्ने अवस्था बनाएको छ । 

२०८१ साउनको दोस्रो सातादेखि सञ्चालनमा आएको पाँचतारे हिल्टन तोडफोड र आगजनी हुँदा होटल अब उठ्न नसक्ने अवस्थामा पुगेको छ । 

मुलुकको व्यावसायिक घराना शंकर ग्रुपले जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडमार्फत् निर्माण गरेको होटल विश्वको चर्चित चेन हिल्टनले व्यवस्थापन सम्हालेदेखि होटल हिल्टन काठमाडौं ब्रान्डमा सञ्चालनमा आएको थियो । हिल्टन विश्वकै ठूला चेन होटल मध्ये एक हो । 

नेपालमा हिल्टनको पहिलो प्रवेश हो । हिल्टनले अन्तर्राष्ट्रिय बजारमा लक्जरीदेखि बजेट होटलसम्म सञ्चालन गर्दै आएको छ ।  हिल्टनका ६२ सयभन्दा बढी होटल तथा रिसोर्ट सञ्चालनमा रहेका छन् । यो एक वर्षअघिको तथ्यांक हो ।

आगजनी र तोडफोडले होटलको अधिकाँश भाग जलेर खरानीमा परिणत भएको छ । यद्यपि, होटलमा भएको क्षतिको विवरण पूर्ण संकलन भइसकेको छैन । होटल रिनोभेसन गरेर सञ्चालनमा ल्याउन सकिने पनि सम्भावना छ । यो अवस्था क्षतिमा निर्भर हुनेछ । 

होटलमा शंकर ग्रुप र विभिन्न बैंकहरुको आठ अर्ब रुपैयाँ बढी लगानी संकटमा पारेको छ ।  यसबाट ग्रुपलाई आगामी दिनमा थप लगानी गर्ने आत्मविश्वास पनि गुमेको प्रष्ट हुन्छ ।  होटलको अब पुनर्निर्माण हुन्छ वा हुँदैन त्यो अनिश्चित छ । शंकर ग्रुपले चाहेमा क्षतिअनुसार होटल सञ्चालनमा आउन लामो समय लाग्ने छ । 

होटलमा आगजनीका कारण ठूलो क्षति हुँदा सयौं नेपाली नागरिकले रोजगारी गुमाएका छन् । होटलको बिमा गरिएको छ । तर ठूलो क्षति भएकाले बिमा कम्पनीबाट क्षतिपूर्ति पाए पनि होटल उठ्न गाह्रो रहेको कम्पनीका एक उच्च अधिकारीको भनाइ छ । 

पछिल्लो समय विभिन्न समूहको टार्गेटमा रहेको होटल पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको लगानी भएको हल्लाले गर्दा होटल जेनजीको निसानामा परेको हो । 

ग्रुपले १२ वर्षअघि बनाएको योजना

उत्पादन क्षेत्रमा मात्र केन्द्रित शंकर ग्रुपले १२ वर्षअघि पाँचतारे होटल खोल्ने योजना बनाएर सेवा क्षेत्रमा प्रवेश गर्ने सोच अघि सारेको थियो ।   शंकर ग्रुपले होटलको सन् २०१४ मा नक्सा तयार पारेको थियो ।  त्यसको दुई वर्षपछि अर्थात सन् २०१६ बाट होटलको निर्माण सुरु भएको हो । 

सरकारले सन् २०२० मा ल्याएको नेपाल भ्रमण वर्षलाई लक्षित गरी होटल सञ्चालन गर्ने योजना थियो । कोभिड महामारीले गर्दा नेपाल भ्रमण वर्ष रद्ध हुनुका साथै होटलको निर्माण पनि ठप्प हुन गयो ।

होटलको सुरुवाती अनुमानित लागत ७ अर्ब २७ करोड रुपैयाँ थियो । 

पछि कोभिड महामारीले गर्दा होटल निर्माण अवरुद्ध हुँदा समयका साथै लागत एक अर्ब १० करोड थपिएर ८ अर्ब ३५ करोड पुगेको ग्रुपका प्रबन्ध सञ्चालक शाहिल अग्रवालले होटल उद्घाटन भएको दिन साउन १८ गते जानकारी दिएका थिए ।

होटलको विकासकर्ता जगदम्बा हस्पिटालिटीले गतवर्ष सन् २०२४ मा पाँच अर्ब ३० अर्ब रुपैयाँ ऋणको रेटिङ गराएको थियो ।  होटलमा सबै प्रकारका सुविधा उपलब्ध थियो । होटलले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने योजना पनि बनाएको थियो ।  

भारतीय कम्पनी निर्जीवन बीमा कम्पनी दि ओरियन्टल इन्स्योरेन्स लिमिटेडमा होटलको बिमा गरिएको छ । 

दुई दर्जन होटलमा क्षति, २५ अर्ब नोक्सान   

जेन्जी आन्दोलन हिंसात्मक बन्दा हिल्टन मात्र हैन अन्य ठूलामा ठूलो क्षति भएको व्यसायीहरुको छाता संगठन होटल संघ नेपाल (हान) ले जनाएको छ । 

संकलित प्रारम्भिक जानकारीअनुसार प्रत्यक्ष प्रभावित होटलहरु काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुर लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्डसमेतका चर्चामा रहेका होटल प्रतिष्ठानहरुमा भएका तोडफोड, आगजनी, लुटपाट भएको हानले जनाएको छ । 

Hilton-hotel_NPL-(12)-1757901441.jpeg
 

हिल्टन होटलको मात्रै ८ अर्ब रुपैयाँ भन्दा बढीको क्षतिसमेत गरी देशैभरी कूल २५ अर्ब रुपैयाँ भन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान हानले गरेको छ । 

यसबाट प्रभावित सदस्य होटलहरु मर्मत सम्भार, पुनर्निर्माण नगरी सञ्चालनमा आउन नसक्ने हुँदा करिब दुई हजारभन्दा बढी कामदार कर्मचारीको चाडपर्वको समयमा रोजिरोटीमा समेत प्रत्यक्ष प्रभाव पर्ने र हाल सञ्चालन अवरुद्ध भएका यी होटलहरुले व्यहोर्नु पर्ने बैंक–वित्तीय संस्था लगायतका आर्थिक दायित्व नियमित रुपमा तिर्न बुझाउन असमर्थ भएको हानले स्पष्ट पारेको छ ।

सुशासन विकास र जनताले खोजेको मुलभूत परिवर्तनका लागि दर्जनौं नव युवाहरुले जीवन बलिदान गरेका र सयौं घाइते महान योद्धाहरुको त्यागबाट सफल रहेको आन्दोलनबाट प्रारम्भ हुन लागेको संक्रमणकालिन अवस्था आएको हानले जनाएको छ । 

सर्वसाधारणको सेयर लगानी भएको पब्लिक लिमिटेड कम्पनीसहित निजी क्षेत्रका यस प्रकारको ठूलो लगानी र सम्पत्तिमा भएको पीडादायी क्षतिको यथाशीघ्र शक्तिशाली अधिकारप्राप्त न्यायायिक समितिबाट जाँचबुझ भई अपराधीलाई उचित क्षतिपूर्ति सहितको दण्ड हुन तथा मर्मत सम्भार पुनर्निर्माणका लागि राज्यबाट आर्थिक प्याकेज उपलब्ध गराएर लगानीकर्ताको मनोबल कायम राख्न हानले माग गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  ०७:४३
प्रतिक्रिया दिनुहोस्