“झमककुमारी घिमिरेको घर कता पर्छ ?” त्यसपछि यो प्रश्न दोहोर्याउनु परेन । अन्तिमपटक सोध्दा उहाँकै आँगनीमा अडिएको रहेछु ।
“यही हो,” मधुर मुस्कानसहितको आवाज आयो । मेरो खोजले त्राण पायो ।
-1757725476.jpg)
बाटो बिराउने चिन्ता थियो । दोबाटोमा घरीघरी सोध्दै हिँडेको थिएँ । पटकपटक सोध्दा पनि एकपटक त घरैनजिक पुग्दा अलमलिएँ । आकाशमा कालो बादल मडारिएको थियो, गड्याङगुडुङ आवाज सुनिँदै थियो ।
“तपाईं माथि आउनुभएछ, त्यो घुम्तीबाट तेर्सै गएर बाँसघारीबाट ओर्लिएपछि उहाँको घर आउँछ,” एक महिलाले मार्गदर्शन गर्नुभयो ।
-1757725096.jpg)
बाँसघारी आयो, ओर्लने बाटो आउँदैन । मन आत्तियो, फेरि बिराउने पो हो कि !
भएको बाटो कहाँ जान्थ्यो र ! म कति हतारिएको रहेछु, झमकको चमक हेर्न ।
बाटो बिराउँदा पनि तल पुग्नुभन्दा माथि पुगेकै जाती । ओर्लन सजिलो हुन्छ ।
पिँढीमा बसेकी युवतीको मोबाइलमाथिको ध्यान भंग भयो । अलि परको कुर्सी वर ल्याइदिइन् । उनले कुर्सी मिलाउँदै गर्दा पक्की घरको ढोकाभित्र यसो चियाएँ । र, देखेँ एउटा ह्वीलचेयर र छेवैको बिस्तरामा मानिस निदाएको ।
म निदाएको बेला कसैले उठाए झर्को लाग्छ, आफ्नै मान्छे पनि अर्को लाग्छ । आफ्नै स्वभाव सम्झँदै सोचेँ– पक्कै झमक सुतेको हुनुपर्छ । निदाएको मान्छेलाई के उठाउनु ?
-1757725146.jpg)
झमकको नामबाट चर्चित घरमा गए पनि घरमा झमक मात्रै हुनुहुन्छ भन्ने भाव आउनु कस्तो अल्पता !
“दिदी भर्खर सुत्नुभएको छ, निदाउनुभएको छैन,” आफैँले मिलाइदिएको कुर्सीमा बस्न नपाउँदै युवतीले मलाई मैले चियाएको कोठातर्फ लगिन् । त्यसदेखि देब्रेपट्टिको अर्को कोठामा रहेछ, झमकज्यूको शयनकक्ष ।
युवतीले झमकले ओढेको ब्ल्यांकेट उठाइदिइन् । सुतेको शिर उठाउन सहायता दिइन् । र, शरीरको कपडा मिलाइदिँदै भनिन्, “दिदी, तपाईंलाई भेट्न उहाँ बागलुङबाट आउनुभएको छ ।”
साथै, तयार पारिदिइन् झमकको संवादको साधन कापी र कलम ।
देश दर्शनका लागि पदयात्रा सुरु गरेको १४५औँ दिनमा (भदौ २० गते) म धनकुटाको झमकनिवास पुगेको थिएँ । पुग्न पो समय लाग्छ, पुगेँ भन्न कति नै लाग्छ र ? एकपटक भनी हेर्नुस् त !
-1757725223.jpg)
यसको पनि आफ्नै निर्धारक हुन्छन्, जस्तो कि कुन ठाउँबाट कुन माध्यमको प्रयोग गरी कुन गतिमा... आदिइत्यादि । उडेर या गुडेर कतै नअलमलिई गएको भए कति नै समय लाग्थ्यो होला र ? उड्ने र गुड्ने माध्यमसँग हिँड्नुको के तुलना ?
“धनकुटा पुगेपछि झमककुमारी घिमिरेलाई जसरी पनि भेट्नुस् है,” महालक्ष्मीकी एक दिदीले सुझाउनुभएको थियो । मैले बिर्सेछु । धनकुटा बहुमुखी क्याम्पसको अतिथिगृहमा बस्छु भन्ने निश्चित भएपछि सम्झेँ ।
सुतेको मान्छेलाई उठाउनु परेकामा कस्तोकस्तो लागेको थियो । तैपनि, युवतीले सहज बनाइदिइन्, “उहाँ कुराकानी गर्नुहुन्छ ।” झमक पनि तयार हुनुभयो ।
“हामीजस्तो ५०–६० लाख युवा काम गर्न र ५–७ लाख युवा अध्ययन गर्न विदेश गएका छन्, हाम्रो देशमा गरी खाने ठाउँ रै’छ कि रै’नछ भनेर हेर्न हिँडेको,” मैले आफ्नो परिचय दिएपछि यात्राको उद्देश्य सुनाएँ ।
-1757725562.jpg)
“मेरो विचारमा गरेर खाने जमिन जत्ति पनि छ,” उहाँको दाहिने पाउले कापी अँठ्याएर देब्रे पाउले पानामा कोर्न थाल्यो ।
मैले पूरै बुझ्न सकिनँ । युवतीलाई बोलाएँ, जो मोबाइलमा व्यस्त थिइन् । अक्षरको स्पष्टता सोध्नुअघि झमकसँगको साइनो सोधेँ, “तपाईं उहाँको ?”
म पनि कस्तो, उनले दिदी भनेपछि बहिनी होलिन् भन्ने त सोच्नुपर्छ ! फेरि अचेल बुहारीले आमाजूलाई पनि दिदी नै भन्ने चलन छ । स्पष्ट हुन मन लाग्नु नराम्रो हो त ?
“बहिनी,” साइनो सम्झाउँदै भनिन्, “बेलाबेला मैले पनि दिदीको अक्षर बुझ्दिनँ, अहिले उहाँ बिरामी पनि हुनुहुन्छ । नसासम्बन्धी समस्या छ ।”
यो सुनेपछि झमकलाई भेट्न दगुरेको मन कुँडियो । जे होस्, हामी दुई मिलेर अक्षर पहिल्याउन लाग्यौँ, “तर प्लटिङ र डोजर हान्ने काम...।” त्यसपछि अर्थ्यायौँ, “...त्यस्तो काम जथाभावी गर्नु हुँदैन ।”
मैले उहाँको ‘जीवन काँडा कि फूल’ किशोर छँदै पढेको हुँ । तर, धेरै प्रसंग बिर्सेको स्वीकारोक्तिको भावसहित सोधेँ, “तपाईंलाई अहिले के लाग्छ, जीवन काँडा कि फूल ?”
“फूल ।”
-1757725341.jpg)
झमकलाई भेटेपछि लाग्यो– उहाँको जीवन साँच्चिकै फूल हो, फूलमा पनि गुलाफ, जसको सौन्दर्यपान गर्ने अवसर मैले पनि पाएँ ।
म बोल्छु, उहाँ सुन्नुहुन्छ । उहाँ लेख्नुहुन्छ, म पढ्छु । यही हो हाम्रो संवादको शैली । हामीले उहाँको अक्षरका आकारअनुसार एक पाना कुरा गर्यौँ ।
उहाँले लेख्दै गर्दा केही चलअचल तस्बिर लिएँ । बहिनीलाई हाम्रो फोटो खिचिदिन आग्रह गरेँ । स्वीकारिन् । बिस्तरामै बस्ने अनुमति पनि दिइन् । फोटो खिच्यौँ ।
संवादमा एक किसिमको औपचारिकता थियो । मैले अब आराम गर्नुस् भनेँ । उहाँले ‘हजुर, हुन्छ’ लेख्नुभयो ।
उहाँलाई आराम चाहिएको थियो, मलाई चैन । मेरो मन बेचैन थियो । कारण फेरि भन्नुपर्छ र ? उही त हो, बिरामी मान्छेलाई दुःख दिएँ भन्ने भाव ।
एक हिसाबले कुरा सकिइसकेको थियो । छुट्नका लागि बसेको ठाउँबाट उठ्दै गर्दा मनमा अकस्मात् राजनीतिक प्रसंग सोध्न मन लाग्यो । मलाई उहाँसँग बोलेर पुगेको थिएन ।
-1757725622.jpg)
मान्छेसँग नबोल्दा पनि परिवेश बोल्ने अनुभूति अभिव्यक्त गरेँ, “म त तपाईंहरू हिँडेको बाटो हिँड्दै छु, यसरी हिँड्दै गर्दा माटोले पनि बोल्दो रहेछ ।”
उहाँको मुहारमा मधुर मुस्कान लहरायो, मेरो मनमा उमंग । उहाँले पर सार्नुभएको डायरी फेरि तान्नुभयो र लेख्नुभयो, “मान्छे जस्तो छ, त्यस्तै कुराकानी गर्ने हो माटोले पनि, आकाश, वायुले पनि । अरू देशमा कृत्रिम छ । तर, हाम्रो देशमा ओर्जिनल छ । तर, हाम्रो देशमा राज मात्र भयो, नीति राम्रो भएन ।”
एउटाको बोली नसकिँदै बोल्ने बानी परेको हामी । हामीमा तपाईं पर्नु हुन्न भने म मात्रै ल ! झमकले लेखुन्जेल पर्खनैपर्यो । त्यो पनि हातले होइन, पाउले ।
-1757725408.jpg)
सम्झेँ, बोलाइ र लेखाइको गति नमिल्दो रहेछ । जस्तो, उडाइ, गुडाइ र हिँडाइको मिल्दैन । मिल्ने त बुझाइ रहेछ । हामीमा मिलेको त यही बुझाइ न थियो । यही बुझाइले अधीर मन स्थिर हुन्थ्यो ।
“युवाहरू आउनुपर्छ राजनीतिमा, यो अहिलेका बुढाहरू मात्र भएर भएन,” उहाँले युवालाई आह्वान गर्नुभयो, “दिँदैनन् । तर, खोसेर भए पनि लिनुपर्छ । सत्तामा पुगेर भत्ता पकाउने काम गर्नु हुँदैन ।”
मैले उहाँलाई मन पर्ने नेताहरूको नाम सोधेँ । “कांग्रेसको विश्वप्रकाश, एमालेको गोकर्ण विष्ट, राप्रपाका राजेन्द्र लिङदेन...।”
थप लेख्न पाना पुगेन । नयाँ पाना पल्टाउन सघाएँ । लेख्नुभयो, “नयाँ पार्टीहरूको त्यति थाहा छैन । तीसँग उठबस पनि छैन ।”
-1757725667.jpg)
उहाँलाई मन परेको पुस्तकका नाम सोधेँ । “राजनीतिक–प्रयोगशाला, सामाजिक–भुइयाँ, साहित्यमा अहिले आएको छ... भुइँमान्छे होलाजस्तो लाग्छ ।”
अघिल्ला दुई पुस्तक मैले पनि पढेको छु । पछिल्लोबारे जानकार छैन, माफ गर्नुहोला । तपाईंले पढ्नुभएको छ कि ?
यति मिठो कुराकानीपछि मलाई लाग्यो– उहाँलाई छुन पाए कस्तो हुन्थ्यो ?
मैले विनम्र भावमा आग्रह गरेँ, “के म तपाईंको हात छुन सक्छु ?” म छुन सक्ने दूरीमा थिएँ ।
-1757725291.jpg)
जवाफ हुन्छ/हुँदैन मा आएन, जो अपेक्षा गरेको थिएँ । अनपेक्षित तर आत्मीय, “हात मात्र किन ? स्वच्छ मन छ, जहाँ छोए पनि फरक पर्दैन ।”
“हजुरको मन त जीवन काँडा कि फूल पढ्दा पनि छोएको हो नि, सामुन्ने हुँदा हजुरको ऊर्जा महसुस गरूँ भनेर नि,” मैले सुस्तरी उहाँको हात छोएँ, पाउ पनि, जसले हामीलाई सुन्दर कृति दिएका छन् ।
पाना पल्टियो, उहाँका पाउ रोकिएनन्, “म किताबभन्दा बढी मान्छेलाई पढ्ने लेखक हुँ ।”
उहाँको ओठमा मुस्कानको फूल फुल्यो । मेरो मन मोहित भएर त्यहीँ भुल्यो । मौकाको फाइदा उठाउँदै सोधेँ, “मान्छे पढ्ने लेखकले ‘म मान्छे’लाई कसरी पढ्नुभयो ?”
“तपाईं मलाई मन पर्यो, किनभने तपाईंका विचारहरू राम्रो लाग्यो मलाई,” यो मैले भनेको होइन ।
-1757725731.jpg)
म झमकसँग कुरा गर्दागर्दै आराम गरिराख्नुभएको आमा उठ्नुभयो । निदाउनुभएको बाबा बिउँझनुभयो । बहिनी फोनमै व्यस्त थिइन् ।
बिदा हुनै लाग्दा झमकको आवाज आयो, शब्द होइन । सायद उहाँले आमालाई बोलाउनुभएको थियो, सहायताको लागि । म बिदा भएर बाटो लागेँ ।
बाटोमा आउँदा पो झस्केँ, झमकलाई फूलजस्तै जीवन दिएका मालीको नामै सोध्न बिर्सेछु । नम्बरको त के कुरा ? हैट, बालीको मोहमा माली नै बिर्सिएछु !”
-1757725788.jpg)
सायद मालीको सन्तुष्टि फूलको सौन्दर्य र सुवासमा हुन्छ, जसको आकर्षणले म बगैँचामा पुगेको थिएँ । यात्राभर अझै कति फूल भेटिन्छन्, कति बगैँचा । यो जरुरी छैन कि हर फूलको बोटमा काँडा नहोस् ।
बादल फाट्यो । झरी परेन । झमकको सौन्दर्यबाट सिञ्चित मन र सल्लेरीको सुसेलीले आनन्दित तनलाई त्रिभुवन विश्वविद्यालयभन्दा अगाडि नै स्थापना भएको धनकुटा बहुमुखी क्याम्पसको पाहुनाकक्षमा आएर विश्राम दिएँ ।
-1757725843.jpg)
-1757725905.jpg)
-1757725903.jpg)
-1757725903.jpg)