पोखरा । भदौ २४ को राति डोजर लिएर पुगेका ‘जेनजी’ प्रदर्शनकारीहरूले आगजनी गर्दा ध्वस्त बनेको जिल्ला प्रहरी कार्यालय कास्कीमा शुक्रबार बिहान केही स्थानीय र व्यवसायीहरू सरसफाइमा जुटे । उनीहरूले जिप्रकाको पुनर्निर्माण गरिदिने भनेका छन् ।
पोखराको गैह्रापाटनमा रहेको कास्की प्रहरी मुख्यालयमा आगजनी हुँदा स्वयं जनताको सुरक्षा गर्ने सुरक्षाकर्मी निरीह बने ।
शुक्रबार बिहानसम्म आगो नियन्त्रणमा छ । तर, प्रदर्शनकारीहरूले राति ९ बजेतिर खरानी बनाएका भौतिक संरचनाबाट भने ‘राग’ आइरहेको छ । जसका कारण आँखा पोल्न थालिहाल्छ र आँसु झर्छ । यही रागमा एउटा व्यक्तिको शरीरको अंश पनि मिसिएको छ ।
आगजनी हेर्न भनेर गएका ४२ वर्षीय विजय लामा हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा जीवनमरणको दोसाँधमा छन् ।
लामा त्यहाँ आगजनी हेर्न भनेर पुगेका थिए । गेटभित्रै छिरेका लामा एउटा ठूलो विस्फोट (सायद ग्यास सिलिन्डर) पछि बाहिरिए । उनी बाहिरिन नपाउँदै आगोको लप्काले उनको शरीर लपेटिसकेको थियो ।
गेटबाहिर आइपुग्दासम्म बोल्न सक्ने उनलाई त्यही आगलागी हेर्न गएका, ५/६ वर्ष अगाडि भेटेका साथी दलबहादुर गुरुङले सुरुमा ठम्याएनन् । तर, पछि थाहा भयो उही साथी रहेछन् ।
लामा हाल अस्पतालमा जलनको उपचार गराइरहेका छन् । तर, चिकित्सकले उनका साथीलाई बताएअनुसार, लामाको अवस्था निकै गम्भीर छ । ७८ प्रतिशत शरीर जलिसकेको चिकित्सकले बताएको उनले जानकारी दिए ।
लामा चितवनका हुन् । तर, गुरुङलाई पनि उनको विस्तृत जानकारी छैन ।

६ वर्ष अगाडि गुरुङले गाडी चलाउँदा उनकै लामाले त्यहाँ केही समय काम गरेका थिए । आगलागीमा परेका लामाले मोबाइल पनि आगोभित्रै फालेका कारण गुरुङले उनको आफन्त भेटाउन संघर्ष गर्नुपर्यो । जिप्रकाको गेटबाट अस्पताल पुग्दासम्म लामाको आवाज गइसकेको थियो । उनी पोखराको दीप भन्ने ठाउँमा बस्छन् भन्ने सुनेका कारण बिहीबार बस्ने ठेगाना खोज्न पनि गुरुङ पुगेका थिए । तर, पत्तो पाउन सकेनन् । बल्लतल्ल चितवनमा उनकी दिदीको नम्बर भेटाएर शुक्रबार बिहानै गुरुङले सम्पर्क गरेका थिए ।
मानवअधिकार तथा इन्सेक टोलीसँग गुरुङले भने, “कर्फ्युका कारण उहाँ आउन सक्नुभएको छैन ।” यही टोलीले अहिले उपचाररत लामाको आफन्तसँग कुराकानी गरेको छ ।
000
रोल्पामा जन्मेका विवश घर्तीमगर १८ वर्षका हुन् । बाबुआमा नभएका उनलाई एसओएसले हुर्काएको थियो । पोखराको एउटा कलेजमा दोस्रो सेमेस्टर पढ्ने विवश नितान्त जेनजी आन्दोलन भनेर हिँडेका किशोर हुन् । उनको अघिल्लो पुस्ताले भोगेको १० वर्ष जनआन्दोलनको केन्द्र थियो, रोल्पा ।
त्यही क्रान्तिस्थलका विवश रानीपौवामा डेरामा साथीसँग बस्थे । भदौ २३ मा जसै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध उनको पुस्ताले आन्दोलन गर्ने थाहा पाए, उनी पनि त्यहीँ पुगे ।
तर, आन्दोलनमा गर्न खोजिएको के थियो र भयो के ? यसबारेमा अहिले सबैले सोचिरहेका छन् । सरकारी भवनदेखि नेताका घर, व्यवसायीका कार्यालयहरू निसानामा परे ।
तोडफोड र आगजनी हुन्छ भन्नेमा उनी जानकार थिएनन् । तर, केही दलका घुसपैठियाहरूको जत्थाको सिकार बन्न पुगे, उनी ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि त्यो हिंस्रक जत्थाले सरकारी भवनमा आगजनी गर्दा उनलाई गोली लाग्यो । त्यो गोलीले उनको कलेजो क्षतविक्षत बनायो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उनको उपचार भइरहेको छ । बाहिर उनका साथीहरू भेट्न आएका छन् ।
सोही आन्दोलनमा यही ठाउँमा सिकार बनेका हुन्, ३२ वर्षका रेशम शर्मा । शरीरको पछाडिको भागबाट छिरेको गोलीले उनको मूत्रथैली र आन्द्रा छियाछिया पारेको छ । उनी पनि आईसीयूमा नै उपचार गराइरहेका छन् । यही अस्पतालमा लक्ष्मण नेपालीले आईसीयूमा उपचार गराइरहेका छन । विश्व श्रेष्ठ र कृष्ण विकको हार्डजोर्नी विभागमा उपचार भइरहेको छ ।
000
१९ वर्षका अनिश सापकोटा एकल आमाका छोरा हुन् । पोखराकै एक कलेजमा ब्याचलर दोस्रो वर्षमा अध्ययनरत सापकोटालाई आमा अम्बिकाले तरकारी पसल गरेर हुर्काएकी हुन् ।
आफ्नो पुस्ताको आन्दोलनमा ऐक्यबद्धता जनाउन भनेर नै उनी घरबाट निस्केका थिए । तर, महानगरमा ह्रिंसक जत्थाको आगजनीपछि प्रहरीले प्रतिक्रिया जनाउँदा उनको देबे्र आँखैनिर प्रहरीको अश्रुग्यासको सेलले लाग्यो ।
त्यहाँ ढलेका अनिस एकैपटक गण्डकी मेडिकल कलेजको बेडमा होसमा आए । उनको अनुहारको देब्रे गालादेखि आँखामाथिसम्मको हड्डी चकनाचुर भएका छन् । चिकित्सकले रिकभर हुन कम्तीमा आठ हप्ता लाग्ने बताएका छन् ।
मासबार क्षेत्रमा अख्तियारको भवन आगजनी हुँदा गोलीबाट घाइते भएका अर्का किशोर हुन्, स्याङजाको मिर्मीका निश्चल भट्टराई । हालै १२ कक्षा सकाएका भट्टराईको दाहिने खुट्टामा तीनवटा प्लेट राखेर मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।
000
एउटा प्रारम्भिक तथ्यांकअनुसार पोखरामा देखिएको दुईदिने हिंस्रक आन्दोलनमा मात्र सरकारी र राजनीतिक दलका कार्यालयसहित व्यवसाय, व्यावसायिक भवन, होटेल, रिसोर्ट गरेर ८० वटा भवनमा आगजनीदेखि ढुंगा प्रहार गरेर क्षति पुगेको छ । सरकारी सवारीसाधनदेखि फर्निचरको लेखाजोखा छैन ।
प्रदेशसभाको आठ वर्षको इतिहास बोकेको भवनमा खरानी मात्र छ । प्रदर्शनकारीहरूले प्रदेशसभा परिसरका फूलदानी, गमलादेखि पुस्तकालयका पुस्तक समेत लगेका छन् ।

सामाजिक सञ्जालमा विरक्तलाग्दोदेखि हिंसात्मक गतिविधिमा उनीहरूले काम लाग्ने र सक्ने सामान सबै लगेका छन्, नसक्नेलाई जलाएका छन्, नजल्नेलाई तोडफोड गरेका छन् ।
नाडाका अध्यक्ष व्यवसायी ध्रुवकुमार थापाको नयाँ बजारमा रहेको घर र गाडीको सोरुम उनीहरूले ध्वस्त बनाएका छन् । उनकै दाइ गण्डकीका मन्त्री विन्दुकुमार थापाको घरदेखि रिसोर्ट, व्यावसायिक भवन केही बाँकी छैन ।
सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिने भिडियोमा एक युवाले माइकिङ गर्दै भनेका छन्, “अब विन्दुकुमार थापाको बगैँचा रिसोर्ट जलाउन जाउँ ।” उनको आह्वानमा अरु युवाहरू पनि पछि लागेका छन् ।
उनीहरू त्यहाँ पुगेनन् मात्र, थापाका छोरा सौगात प्रबन्ध निर्देशक रहेको अंशुभरा गु्रपको कार्यालय ध्वस्त बनाएका छन् ।
भवनमात्रै होइन, यही भवनमा रहेको स्पामा काम गर्ने २६ वर्षकी स्वस्थानी खड्का आगजनीबाट बाहिर निस्कन नसकेकै कारण ज्यान गुमाउन पुगिन् ।
ध्रुवा थापाको नयाँ बजारमा रहेका घरमा पनि प्रदर्शनकारीको आगजनीबाट ३५ वर्षकी सञ्जु नगरकोटीले ज्यान गुमाइन् ।
आफ्नो घर जलिरहेको हृदयविदारक भिडियो सेयर गर्दै थापाले भावुक स्टाटस लेखेका छन्, “जलेको घरको आगोसँगै मेरा ती सबै उत्साह पनि जलेर खरानी भइरहेका छन् । जलेर खण्डहर भएको घर हेर्दा नेपालमा बसेर व्यवसाय गर्नु नै गल्ती गरिएछ कि भन्ने लागिरहेछ । मेरा बुवा बाजेहरूले आर्जेको जग्गामा बनाइएको यो घरसँग मेरो ३५ वर्षदेखिको मेहनत र पसिना जोडिएको थियो तर एकैछिनमा सबै खरानी बनाइदिए,” उनले लेखेका छन् ।
उनले आफ्नो घरमा जलेकी युवतीलाई गुमाउनु सबैभन्दा पीडादायी रहेको बताएका छन् । “घटना हुनु केही क्षणअघिमात्रै हामी सबै परिवारलाई खाना बनाएर खुवाएकी ती बहिनी एकछिनमै बर्बरतापूर्वक जिउँदै आगोमा जलाएर मारिन्छिन् भनेर कल्पना पनि नगरेको विभत्स घटना व्यहोर्नु परेको छ । घरमा मान्छे छन् भने जानकारी हुँदाहुँदै तलबाट आगो लगाउने काम जेनजीले गरेका हुन् वा त्यहाँ भित्र अरु नै कोही थिए समयक्रमले बताउँदै जाला तर जोसुकै हुन् ती क्रुर अपराधीहरू भोलिका दिनमा कुनै राजनीतिक खोल ओडेर उम्किन नपाऊन ।”
उनकै घरपछाडि मन्त्री थापाको घर छ । पोखराका सफल व्यवसायी थापा गण्डकीमा लगातार दुईपटक सांसद बनेका व्यक्ति हुन् । दुई कार्यकालमा प्रदेशसभा सदस्यको हैसियतमा पाउने सेवासुविधामा थपेर सामाजिक कार्यमा खर्च गरेको विवरण उनले हरेक वर्ष गर्छन् ।
मन्त्री थापाको नेपाली कांग्रेसमा आबद्धताकै कारण आफूलाई जोडिएको ध्रुवको भनाइ छ । “दाइ राजनीतिमा हुनुहुन्छ । उहाँ व्यवसायमा सफल भएपछि राजनीतिमा लागेर सेवा गर्छु भनेर हिँड्नुभयो । के राजनीति गर्नु नै अपराध हो ? उहाँ राजनीतिमा लाग्नुभन्दा धेरै पहिलादेखि नै पोखराको एक सफल व्यवसायीको रूपमा चिनिनुहुन्थ्यो,” उनले प्रश्न गर्दै भने, “अनि अर्को कुरा उहाँलाई भ्रष्टाचार गरेको र भ्रष्टाचारबाट प्राप्त रकम उहाँको छोराहरूले मोजमस्ती गरेको भनेर जुन प्रकारले सामाजि सञ्जालमा सयौँको संख्यामा फेक आईडी बनाएर देखाइयो त्यो बिल्कुल निराधार र कपोलकल्पित छ । उहाँको बढ्दो लोकप्रियता देखेर उहाँको इमेज ड्यामेज गराई राजनीतिक अभिष्ट पूरा गर्न रचिएको योजना हो, त्यो ।”
000
स्थिति यतिसम्म नाजुक बन्न पुग्यो कि, सुरक्षा निकायको कमान्ड गर्ने जिल्ला प्रशासन कार्यालय नै निरीह बन्न पुग्यो । स्वयं प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले हातले लेखिएको विज्ञप्तिमार्फत अवस्थाबारे जानकारी दिनुपर्यो ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार मात्रै विज्ञप्ति जारी गर्दै अधिकांश कार्यालय अझै सामान्य सेवामा फर्किन नसकेको जानकारी दिएको छ ।
पोखरामा भएको हिंसात्मक गतिविधिको सीसीटभी फुटेजका आधारमा दोषीलाई कारवाहीको आधारमा ल्याउने उनले जानकारी दिएकी छन् । “चोरी भएका सामान फिर्ता गर्न आह्वान गर्छौं । त्यस्तो नभए, हामीसँग सीसीटीभी फुटेज पनि छ, दोषीलाई कारबाहीको दायरामा ल्यान्इछ,” उनले भनिन् ।
शुक्रबार नै प्रहरीले हिंस्रक गतिविधिमा संलग्नहरूको विवरण मागेको छ । हाल स्थिति केही नियन्त्रणमा देखिएको जस्तो छ । तर, घामले चर्किएको शुक्रबार दिउँसोको पोखरा कुनै ठूलो मौनतामा देखिन्थ्यो । व्यापारिक सटरहरू बन्द, सडक सडकमा खाक बनेका सामानको रागले बजारलाई थप अत्यासलाग्दो बनाएको छ ।







