काठमाडौं । 'जेनजी' आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगो लागेर विचाराधीन मुद्दाका मिसिल नष्ट भएपछि पुनः संकलनका लागि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वपक्षीय बैठक राखेका छन् । शुक्रबार (भदौ २७) जुममार्फत राखिएको भर्चुअल बैठकमा सर्वोच्च अदालतका न्यायाधीशहरू, नेपाल बार एसोसिएसनका अध्यक्षसहित पदाधिकारीहरू, सर्वोच्च बार एसोसिएसनका कार्यवाहक अध्यक्षसहित पदाधिकारीहरू र सर्वोच्च अदालतका अधिकारीहरू सहभागी भएका थिए ।
जेनजी आन्दोलनका क्रममा यही भदौ २४ गते सर्वोच्चसहित विभिन्न अदालतमा आगो लगाइएको थियो । आगोबाट जलेर मुद्दाका मिसिलहरू नष्ट भएपछि वकिलहरूको सहयोगमा थुना मिसिलहरू संकलन गरी प्रमाणीकरण गरेर राख्ने प्रयत्न भएको छ ।
"विद्वान् कानुन व्यवसायीहरूको छलफलबाट सर्वोच्च अदालतमा आगलागीबाट नष्ट भएको मुद्दाको मिसिल पुनः प्राप्ति गर्ने, इजलास सञ्चालन गर्ने, माननीय न्यायाधीशहरू, कानुन व्यवसायीहरू तथा कर्मचारीहरूको सुरक्षा एवम् सर्वोच्च अदालतको दैनिक कार्य सञ्चालन लगायतका विषयमा बृहत् छलफल भयो," सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले भने, "छलफल कार्यक्रममा नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन तथा सम्पूर्ण वरिष्ठ अधिवक्ता तथा अधिवक्ताज्यूहरूबाट यो विषम् परिस्थितिमा अदालतमा भएका मिसिल कागजातहरूको संरक्षण, नष्ट भएका मिसिलहरूको पुनः प्राप्ति, सूचना प्रविधि लगायतका सेवा प्रवाहका भौतिक पूर्वाधारहरू व्यवस्थापन कार्यमा न्यायपालिकालाई पूर्ण रूपमा सहयोग र समन्वय गर्ने भन्ने प्रतिबद्धता जनाउनु भएको छ ।"
साथै, वरिष्ठ अधिवक्ताहरूसँगको छलफलपछि प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, रजिस्ट्रारहरू, सहरजिस्ट्रारहरूसहित कर्मचारीहरूलाई अदालतका कामकारबाहीलाई सरल र सहज बनाउन निर्देशन दिएको उनले जानकारी दिए ।