काठमाडौं । जेनजी प्रदर्शनका क्रममा जनधनको क्षतिप्रति नेपाल उद्योग परिसंघले गहिरो दुःख व्यक्त गरेको छ । परिसंघले ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
परिसंघले शुक्रबार (भदौ २७) एक विज्ञप्ति जारी गर्दै सुशासन, भ्रष्टाचार निवारण र सार्वजनिक क्षेत्रमा पारदर्शितासहितका युवापुस्ताको आकांक्षालाई उच्च सम्मान दिँदै मुलुक नयाँ चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरेको छ । “विद्यमान अन्योलतालाई पार गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सबै पक्ष एकजुट हुनुपर्छ,” वक्तव्यमा भनिएको छ ।
आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड र लुटपाटका घटनाले उद्यमी व्यवसायीलाई गहिरो चिन्तामा पारेको परिसंघले जनाएको छ । उद्योग तथा व्यवसायकेन्द्रित तोडफोड र आगजनीका कारण लगानीकर्ता त्रसित मात्र नभई धेरैको रोजगारीसमेत प्रभावित भएको संघको ठहर छ । परिसंघले लगानी र रोजगार सुरक्षित राख्न निजी क्षेत्रलाई भयमुक्त वातावरण दिन र सुरक्षाको प्रत्याभूति दिलाउन सरकार तथा सरोकारवालालाई आग्रह गरेको छ ।
“सार्वजनिक तथा निजी संरचनाको पुनर्निर्माणका लागि ठूलो लगानी आवश्यक छ, जुन राज्यको स्रोतले मात्र सम्भव छैन । राज्यको प्रमुख आयस्रोत पनि निजी क्षेत्र भएकाले उद्योग व्यवसाय निर्भय भएर सञ्चालन हुने वातावरण तुरुन्त सुनिश्चित हुनुपर्छ,” वक्तव्यमा भनिएको छ ।
कोभिड–१९ र त्यसपछिका नियामकीय चुनौतीका कारण अर्थतन्त्रले झन्डै तीन वर्ष कठिन समय व्यतित गरेको परिसंघको मूल्यांकन छ । हालको अवस्थाले सहज रूपमा उद्योग–व्यवसाय सञ्चालन गर्न नदिए अर्थचक्रमै असर पर्न सक्ने र सरकारको राजस्व घट्न सक्ने चेतावनी दिँदै परिसंघले समयमै वातावरण सुधार्न आग्रह गरेको छ ।