site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पेसा/व्यवसाय गर्न आवश्यक सुरक्षा हुनुपर्छ : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले व्यवसाय निर्बाध रूपमा सञ्चालन गर्न आवश्यक शान्ति सुरक्षाको व्यवस्थाका निम्ति आग्रह गरेको छ । नवर्निर्माण एवं पुनर्निर्माणका निम्ति आउँदो दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र भएको भन्दै यसलाई सहज रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

महासंघले देशभरको आन्दोलन एवं प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक् स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी, राजस्वको सदुपयोगलगायत विषयमा युवापुस्ताले चासो देखाएको भन्दै यसलाई सम्बोधन चाँडो गर्नुपर्नेमा महासंघले जोड दिएको छ ।

युवापुस्ताको चाहनाबमोजिम समुन्नतिको यात्रामा देश अगाडि बढ्ने अपेक्षा महासंघले गरेको छ ।

देशको समुन्नतिका निम्ति अन्योल अन्त्य भएर सुशासन कायम गर्ने कार्यमा समन्वय एवं सहकार्य गर्न तयार रहेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“पछिल्लो घटनाक्रममा कतिपय उद्यमी, व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएका छन् । यसरी व्यक्तिगत एवं व्यावसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको महासंघ भर्त्सना गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आउँदो दिनमा आक्रमण नहुने निश्चितताका निम्ति महासंघले सबैको ध्यानाकर्षण गराएको छ ।

निजी क्षेत्रका गतिविधि निर्बाध रूपमा सञ्चालन हुन नसकेमा अर्थतन्त्रमा थप समस्या हुने र आउँदो दिनमा राजस्वमा समेत नकारात्मक प्रभाव पर्ने आकलन गरिएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १४:३२
प्रतिक्रिया दिनुहोस्