site stats
बाह्रखरी :: Baahrakhari
देश
किन जंगी अड्डाले जिल्लामा रहेका सैनिकलाई काठमाडौं ल्याइरहेको छ ?

काठमाडौं । सैनिक मुख्यालय जंगी अड्डाले विभिन्न जिल्लामा रहेका आफ्ना सैनिक जनशक्तिलाई काठमाडौं उपत्यकामा झिकाइरहेको छ । भदौ २४ गते राति १० बजेबाट सुरक्षा व्यवस्था सम्हालेको सेनाले त्यसपछि जिल्लामा रहेका सैनिकलाई काठमाडौं झिकाउँदै आएको छ ।
 
जेनजीको प्रदर्शन, त्यसपछिको तोडफोड, आगजनी, लुटपाटका घटना नियन्त्रणमा लिन काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा र कर्फ्युको समय लम्बिदै गएपछि जिल्लामा रहेका सैनिकलाई काठमाडौं झिकाउन परेको हो ।

“सामान्य दिनमा आठ घण्टा ड्युटीमा खटिनुपर्छ । तर, अहिलेको जस्तो विशेष अवस्थामा सेना चौविसै घण्टा खटिनुपर्ने हुन्छ । यसको लागि ‘रेस्ट एन्ड रिलिफ’ भन्ने हाम्रो व्यवस्था छ । निश्चित समय ड्यिुटी गरेपछि त्यसलाई रेस्ट (विश्राम) दिने र अर्कोलाई ड्यिुटीमा खटाउने । यस्तो गर्दा जनशक्ति बढी चाहिन्छ । यसैकारण केही जिल्लाबाट जनशक्ति झिकाउन परेको हो,” सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले बाह्रखरीसँग भने ।

सैनिक प्रवक्ता बस्नेतका अनुसार अहिले जिल्लाहरूबाट काठमाडौंमा सैनिकहरू आउँदै गरेको देखिनु पछाडि अन्य कारण पनि छन् । 

केही सैनिक काभ्रेपलाञ्चोकबाट काठमाडौं आएका छन् । उनीहरू पाँचखालस्थित तालिम केन्द्रबाट आवश्कय तालिम लिई संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान काठमाडौं आएका हुन् । उनीहरूको फ्लाइट बिहीबार थियो । 

पछिल्ला दिन बाराको सिमराबाट पनि सैनिक काठमाडौंतर्फ आएका छन् ।  खासमा नेपाली सेनाको ‘लजिस्टिक वेस’ सिमरामा छ । सैनिक प्रवक्ता बस्नेतका अनुसार जुन सैनिक सवारी साधन सीमराबाट आइरहेका छन्, तिनीहरू सेनाको बन्दोबस्तीका सामग्री लिएर आएका हुन् ।
 
काठमाडौं उपत्यकामा भदौ २४ गतेदेखि निरन्तर निषेधाज्ञा र कर्फ्यु जारी छ । चौवीस घण्टामा दुई/तीन पटक ड्युटी रोटेड गर्नुपर्ने बस्नेतले बताए । यसका कारण अन्य समयभन्दा बढी संख्यामा सैनिक काठमाडौं उपत्यकामा आवश्यक परेको उनको भनाइ छ । 

“ड्युटीमा निरन्तर लामो समय खटिन गाह्रो हुन्छ । त्यसैले जनशक्ति फेरिरहनु पर्छ । यसका लागि सामन्य समयकोभन्दा जनशक्ति बढी चाहिन्छ,” सैनिक प्रवक्ता बस्नेतले भने । 

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १४:०४
प्रतिक्रिया दिनुहोस्