site stats
बाह्रखरी :: Baahrakhari
देश
सुर्खेतको सिम्ता गाउँपालिकाका वडाध्यक्ष ठकुरीले दिए राजीनामा

सुर्खेत । जिल्लाको सिम्ता गाउँपालिका–४ का वडाध्यक्ष वीरन्द्रसिंह ठकुरीले पदबाट राजीनामा दिएका छन् । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित ठकुरीले बिहीबार (भदौ २६) एक पत्र जारी गर्दै आफ्नो राजीनामा घोषणा गरेका हुन् ।

राजीनामा पत्रमा उनले पछिल्लो समय गाउँपालिका अध्यक्षको व्यक्तिगत मनोवृत्तिका कारण आफूले जनताको पक्षमा स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न नसकेको उल्लेख गरेका छन् । ठकुरीले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ अनुसार आफूले जनताको सेवामा निरन्तर खटिए पनि पछिल्ला गतिविधिहरूले सेवा प्रवाहमा बाधा पुगेको बताएका छन् ।

“व्यक्तिगत मनोवृत्तिको प्रभाव, गलत आचरण र झुटा आरोपहरूका कारण उत्पन्न परिस्थिति माझ मैले जनताको हितमा काम गर्न असहज महसुस गरेको छु,” ठकुरीले आफ्नो राजीनामा पत्रमा लेखेका छन्, “त्यसैले आजको मितिदेखि लागु हुने गरी म वडा नं. ४ को वडाध्यक्ष पदबाट राजीनामा दिएको छु ।”

वडाध्यक्षको राजीनामाबारे हालसम्म गाउँपालिकाले यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । ९ वडा रहेको सिम्ता गाउँपालिकामा एमालेले पाँच र कांग्रेसले चार वडा जितेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १८:४२
प्रतिक्रिया दिनुहोस्