काठमाडौं । ‘जेनजी’ प्रदर्शनका नाममा सर्वोच्च अदालत जस्तो अभिलेख स्थानमा आगो लगाउँदा धेरै ठूलो क्षति भएको छ । सर्वोच्च अदालतमा रहेका अधिकांश अभिलेखहरू जलेर नष्ट भएका छन् ।
भौतिक अभिलेख मात्र होइन डिजिटलाइज अभिलेखहरू राखिएको सर्भर समेत जलेर नष्ट हुँदा अपरणीय क्षति भएको छ । सर्वोच्च प्रशासनका अनुसार, आगलागीबाट इजलाससहित भौतिक संरचना समेत ध्वस्त भएका छन् ।
अदालत सिंगै आगो लगाएर भौतिक संरचना ध्वस्त हुँदासमेत केही मिसिल भने सकुशल भेटिएका छन् केही मिसिलहरू आधा जलेको अवस्थामा र केही मिसिलका केही भाग मात्र बाँकी भेटिएका छन् । स्टिल दराजभित्र रहेकाले केही मिसिलहरू जोगिएको पाइएको सर्वोच्च प्रशासनले जनाएको छ ।
सर्वोच्चका प्रवक्ता सहरजिस्ट्रार अर्जुन कोइरालाका अनुसार, स्टिल दराजभित्र रहेका मिसिलहरू केही आधा मात्रै जलेको अवस्थामा भेटिएका छन् भने केही सग्ला पनि फेला परेका छन् ।
“केही स्टिल दराजमा रहेका मिसिलहरू सक्ला पनि भेटिएका छन् । केही आधा जलेका र केही चाहिँ केही भाग मात्र सत्य भेटिएका छन्,” सर्वोच्च अदालतका प्रवक्ता कोइरालाले बाह्रखरीसँग भने, “सानो संख्यामा भए पनि बचेका अभिलेखहरू सुरक्षित ठाउँमा सारेका छौँ ।” उनले भवनसमेत ध्वस्त भएकाले ती अभिलेखहरू एनेक्स भवनमा सारेको जानकारी दिए ।
सर्वोच्च अदालतमा विसं १९९३ सालदेखियताका अभिलेख सुरक्षित थिए । पछिल्लो समय अदालतले अभिलेख व्यवस्थित गर्न अभियान नै सञ्चालन गरेको छ । त्यसरी अभियानसहित लगानी गरेर व्यवस्थित गरेको अभिलेख भने एक दिनको अराजक आन्दोलनले ध्वस्त भएको हो ।