site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आन्दोलनमा निजी सम्पत्ति तोडफोड खेदजन्य : नेपाल एलपी ग्यास उद्योग संघ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले देशका विभिन्न स्थानमा ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

बुधबार (भदौ २५) संघले विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा १९ युवा आन्दोलनकारी, प्रहरी तथा अरू नागरिकसहित २३ जनाको मृत्यु र ३५० भन्दा बढी मानिस घाइते भएकाप्रति मर्माहत भएको जनाएको छ । मृतकको आत्माको शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।

आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा गरिएको तोडफोड, आगजनी र व्यवसायमा परेको क्षतिप्रति संघले खेद व्यक्त गरेको छ । आन्दोलन ‘धमिलो पानीमा माछा मार्ने’ उद्देश्यका साथ हिंसात्मक ढंगले मोडिएको भन्दै संघले आपत्ति जनाएको छ ।

संघले यस्तो अवस्थामामा राजनीतिक दल, नागरिक समाज, व्यवसायी तथा सर्वसाधारण सबैलाई संयमित रहन, शान्ति सुरक्षा कायम राख्न र आपसी सहकार्य गर्न आग्रह गरेको छ । साथै, घाइतेको तत्काल उचित उपचार र सहयोग निश्चित गर्न सबै सरोकारवालाको जिम्मेवारी रहेको संघले उल्लेख गरेको छ ।

“हिंसा र विनाशबाट कुनै समाधान निस्कँदैन, वार्ता र मेलमिलापमार्फत मात्र समस्या समाधान सम्भव छ,” विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १४:१५
प्रतिक्रिया दिनुहोस्