site stats
बाह्रखरी :: Baahrakhari
देश
वीरगन्ज महानगरमा अनिश्चितकालीन कर्फ्यु

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिका क्षेत्रमा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ । ‘जेनजी’ समूहको आन्दोलनले उग्ररूप लिएसँगै प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले वीरगन्ज महानगर क्षेत्रमा प्रदर्शन तथा तनावको अवस्थामा कमी नआएपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए । ‘‘आज बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेका थियौँ,” उनले भने, “तर, यहाँको अवस्था सामान्यतर्फ उन्मुख नभएसँगै कर्फ्युको समयावधि थप गरिएको हो ।’’

प्रमुख जिल्ला अधिकारी सुवेदीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगन्ज महानगर क्षेत्रको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डकचोक र दक्षिणमा शंकराचार्य गेटलगायत स्थानमा कुनै पनि प्रकारको जुलुस, प्रदर्शन, सभा, बैठक, घेरा गर्न नपाइने गरी कर्फ्यु आदेश जारी गरिएको बताए ।

प्रशासनले कर्फ्यु लगाए पनि जेनजी समूहबाट विभिन्न सरकारी कार्यालय र राजनीतिक दल तथा नेताका घरमा आगजनीका घटना रोकिएको छैन । प्रदर्शनकारीले नेपाल टेलिकम वीरगन्ज कार्यालय, आन्तरिक राजस्व कार्यालय वीरगन्ज, वीरगन्ज महानगरको कार्यालयमा आगजनी गरेका छन् ।

प्रतिनिधिसभाका सांसद एवं राजनीतिक दलका नेताहरूका घरमा पनि आगजनीका घटना भएका छन् । रासस

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  २०:३२
प्रतिक्रिया दिनुहोस्