काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश, शिक्षाविद्, अधिकारकर्मीलगायत व्यक्तिहरूले संयमता अपनाउन आग्रह गरेका छन् । मंगलबार (भदौ २४) संयुक्त आह्वान गर्दै उनीहरूले आगजनी, तोडफोड, लुटपाट, सांघातिक आक्रमणका घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।
“व्यवस्थापिका संसद्, न्यायपालिका, कानुन कार्यान्वयन निकाय, व्यापारिक प्रतिष्ठान तथा मिडियागृहमाथि समेत भएका भौतिक संरचनामाथिका आक्रमणले हामीलाई कहीँ पनि पुर्याउँदैन भनी मनन गर्न प्रदर्शनकारीहरूलाई हामी हार्दिक अपिल गर्दछौँ,” उनीहरूले भनेका छन् ।
उनीहरूले मुलुक यति बेला २० युवाको मृत्युको शोकमा डुबेको उल्लेख गरेका छन् । “यसको निष्पक्ष छानबिन गरी दोषीहरूमाथि कारबाही गरी दण्डहीनताको अन्त्य गर्नुको विकल्प हुँदैन,” उनीहरूले भनेका छन्, “यसका लागि पनि रचानात्मक ढंगबाट मुलुकको राजनीति अघि बढाउने वातावरण सिर्जना गर्नु अपरिहार्य छ ।”
उनीहरूले प्रदर्शनकारी र सरकारी निकायलाई संयमता अपनाउन र शान्ति कायम गरी राजनीतिक निकास खोज्न आह्वान गरेका छन् ।
यसरी संयुक्त आह्वान गर्नेमा मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्की, केदारभक्त माथेमा, वीरेन्द्रप्रसाद मिश्र, विद्याधर मल्लिक, कृष्ण खनाल, कृष्ण पोख्रेल, हरि शर्मा, मोहना अन्सारी र चरण प्रसाई छन् ।
संयुक्त आह्वान पढ्नोस्–