काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले जेनजी प्रदर्शनमा भएको दमनको घटनाप्रति घोर निन्दा र भर्त्सना गरेका छन् । देशभित्र व्याप्त बेथिति, बढ्दो भ्रष्टाचार र सामाजिक सञ्जाल निष्क्रियको विरोधमा सोमबार (भदौ २३) देशभर जेनजी पुस्ताले गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले हिंसात्मक दमन गरेको भन्दै आपत्ति जनाएका हुन् ।
“आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने दिन हो,” घिसिङले भनेका छन्, “यो आक्रोश युवाहरूको सपना हो– नयाँ नेपाल, पारदर्शी शासन र स्वतन्त्र सोचको सपना ।”
शान्तिपूर्ण प्रदर्शनका क्रममा निर्मम दमन हुँदा होनहार युवाको ज्यान गएको घटनाले आफू मर्माहत भएको उनले बताएका छन् । ज्यान गुमाउने युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
घिसिङले घाइते युवाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अभिव्यक्ति स्वतन्त्र अधिकारको संरक्षण गर्न सरकारसँग जोडदार माग गरेका छन् । साथै, जेनजी पुस्ताले उठाएका मागलाई तत्काल सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । “यस दुखद घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ,” उनले भने, “संवेदनशील घडीमा सबै पक्ष संयमित हुनुपर्छ ।”