वीरगन्ज । पर्सामा गोली प्रहार गरेको आरोपमा सशस्त्र प्रहरी बलको टोलीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, भारतको झारखण्ड जिल्ला पाकुड मानपहाडी ग्राम पञ्चायतका २८ वर्षीय प्रदीप शर्माले मादकपदार्थ सेवन गरी सोमबार (भदौ २३) दिउँसो वीरगन्ज महानगरपालिका–१६, भन्सारगेटनजिकै मुस्कान होटेलमा कार्यरत महिला कर्मचारीमाथि गोली प्रहार गरेका थिए । भारतको बेतिया घर भई वीरगन्जमा बसोबास गर्दै आएकी १८ वर्षीया निशाकुमारी सहनीमाथि उनले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी सुरज कार्कीले होटेलमा कार्यरत भारतीय महिलाको बायाँ गालामा गोली प्रहार गर्ने शर्मालाई कर्कलोघारीमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।
“महिलाको बायाँ गालामा गोली प्रहार गरी फरार भएका शर्मालाई सोही होटेलको पूर्व–दक्षिणतर्फ करिब २०० मिटर टाढाको कर्कलोघारीमा लुकिरहेको अवस्थामा अभियुक्त शर्माको साथबाट लोड गरिएको एकथान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि वडा प्रहरी कार्यालय बिर्तामा पठाइएको छ,” उनले भने । रासस