काठमाडौं । राजधानीको लाजिम्पाटमा पाँचतारे र्याडिसन होटेल सञ्चालन गरिरहेको ओरियन्टल होटल्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
होटेलको संरचना रिनोभेसन गर्न २६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । होटेलको चुक्ता पुँजी एक अर्ब १८ करोड ४४ लाख रुपैयाँ छ । होटेलले ३१ करोड ५५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको जनाएको छ ।
हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव आगामी असोज ३१ गते बस्ने २८ औँ वार्षिक साधारणसभामा पेस हुने ओरियन्टल होटल्सले जनाएको छ ।
होटेलले यस वर्ष सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । गत आर्थिक वर्षमा ओरियन्टल होटल्सको खुदनाफा ७६ प्रतिशत गिरावट आएपछि यो वर्ष लाभांश वितरण नगरेको हो ।
गत असारसम्म ओरियन्टल होटल्सले दुई करोड ९५ लाख रुपैयाँ मात्र नाफा गरेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ओरियन्टल होटल्सको खुदनाफा १२ करोड ३९ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष होटेलको खुदनाफा साढे नौ करोड रुपैयाँ घटेको छ ।
होटेलको कुल बिक्रीमा ११.६० प्रतिशत कमी भएको छ भने कोठा बिक्रीबाट हुने आम्दानीमा २१.६५ प्रतिशत र खाद्य तथा पेय पदार्थ आम्दानीमा ११.४० प्रतिशतले कमी आउँदा होटेलको नाफामा ठूलो असर गरेको हो ।
होटेलको आम्दानी घट्नुमा नयाँ होटेलहरू सञ्चालनमा आएका र पुराना होटेलहरूले पनि रिनोभेसन गर्दै लगेकाले असर परेको हो । तर, र्याडिसन होटेलले सोहीअनुसार रिनोभेसन नगर्दा कोठा आम्दानीमा ह्रास आउनुको साथै यस अवधिमा विवाह, ब्रतबन्धनजस्ता लगनको साइत थोरै भएकाले बैक्युटको बिक्रीमा उल्लेखिनीय रूपमा ह्रास आएको होटेलले जनाएको छ ।
कम्पनीको हालको कुल बिक्री र नाफालाई विश्लेषण गर्दा अपेक्षित रूपमा बृद्धि भएको देखिँदैन, जसको मुख्य कारण यस होटेलको पुरानो भवनको तेस्रो, चौथो र पाँचौ तलाहरूलाई पूर्ण रूपले रिनोभेसन गर्ने कार्यको थालनी गरिसकेको छ । सोबाट सृजना हुने आम्दानीमा ह्रास आएको होटेलले जनाएको छ ।
होटेल परिसरमा अवस्थित नयाँ सर्भिस अमार्टमेन्ट होटेलको ३० ओटा विभिन्न साइजका अमार्टमेन्टसमेत सञ्चालनमा आइसकेको छ । तर, त्यसको प्रतिफलको प्रभाव आगामी वर्षदेखि मात्र देखिने भएकाले सोको सञ्चालन खर्च समेतले गर्दा नाफामा कमी आएको हो । रिनोभेसन सकिएपछि होटेलको बिक्री र नाफामा उल्लेखनीय रूपमा वृद्धि हुनेछ भन्ने प्रक्षेपण गरिएको छ ।