site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल टेलिकमले पनि गर्न सकेन फाईभजीमा जाने निर्णय, एनसेल कहिले ?

काठमाडौं । सरकारले काठमाडौं उपत्यका र ठूला सहरमा पाँचौँ पुस्ता (फाइभजी) सेवा सुरूआत गर्ने योजना सार्वजनिक गरेको छ । 

सरकारले काठमाडौंलगायत प्रमुख सहरहरूमा फाईभजी सेवा सुरु गर्ने योजना ल्याएका बेला मोबाइल सेवाप्रदायक कम्पनी नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलले ठूलो लगानी चाहिने भएकाले तत्काल सुरु गर्न गाह्रो पर्ने बताएका छन् । 

सरकारको बहुमत स्वामित्व भएको नेपाल टेलिकम पनि फाईभजी सेवा सुरु गर्ने विषयमा अन्योलमा छ । सरकारले घोषणा गरेपछि नेपाल टेलिकमले भने हाल फाईभजीको सम्भाव्यता अध्ययन गरिरहेको छ । सम्भाव्यता अध्ययनका आधारमा मात्र फाईभजीमा जाने विषयमा निर्णय हुने टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले बताए ।

“फाईजीको हामीले परीक्षण गरिसकेका छौँ । अप्टिकल लिंकहरु सबै फाईभजी अपग्रेटेड नै छ । फाईभजी सेवा चलाउन चाहिने पूर्वाधार तयार गरिसकेका छौँ । फाईभजीका लागि कुन मोडालिटीमा जाने भनेर अध्ययन भइरहेको छ । अध्ययनका क्रममा भएकाले लागत तय भइसकेको छैन,” उनले भने ।

मोबाइल सेवालाई फाईभजी प्रविधिमा लैजान दुई लगानी मोडल भएको प्रवक्ता मानन्धरले सुुनाए । अहिले स्ट्यान्डएलोन र  ननस्ट्यान्डएलोन दुई सञ्चालन मोडालिटी रहेको छ ।  स्ट्यान्डएलोन फाईभजीको नयाँ प्रविधि भएकाले यो मोडालिटीमा जान धेरै ठूलो लगानी आवश्यक पर्ने उनले जानकारी दिए । यस्तै ननस्ट्यान्डएलोन मोडालिटीमा जान सस्तो पर्ने देखिएको छ । 

फोरजी प्रविधिलाई साथ लिएर अघि बढ्ने भएकाले सस्तो हुने फोरजीमा भएको प्रविधिलाई अपग्रेड गर्दै जाने भएकाले यसको लागत सस्तो पर्ने भनाई प्रवक्ता मानन्धरको छ । तुलनात्मक रुपमा ननस्ट्यान्डएलोन सस्तो पर्ने देखिएको छ । 

नेपाल टेलिकमले लागत तय नगरेको बताइरहेका बेला निजी क्षेत्रको एनसेलले काठमाडौं उपत्यकामा मात्रै फाईभजी सेवा सुरु गर्न एउटा मोबाइल सेवाप्रदायकले १५ अर्ब ५० करोड रुपैयाँ थप लगानी गर्नुपर्ने जानकारी दिएको छ । 

एनसेलका अनुसार काठमाडौं उपत्यकामा मात्रै उपकरण खरिद र पूर्वाधार बनाउन आठ अर्ब रुपैयाँ लगानी चाहिन्छ । 

स्पेक्ट्रम र पाँच वर्षको मर्मत लागत सात अर्ब ५० करोड रुपैयाँ र देशभर फाईभजी सेवा सुरु गर्न साढे ६४ अर्ब रुपैयाँ लाग्ने एनसेलले जानकारी दिएको छ । 

मोबाइल प्रयोगकर्ताहरू ह्वाट्सएप, भाइबर र म्यासेन्जरजस्ता ओभर द टप (ओटीटी) एपमा झुम्मिँदा टेलिकम सेवाप्रदायकको आम्दानीमा गिरावट कम्पनीहरूले जनाएका छन् ।

उपकरण खरिद तथा पूर्वाधार तयारीका लागि ४६ अर्ब र स्प्रेक्टम र मर्मत लागत १८ अर्ब ५० करोड रुपैयाँ लाग्ने छ ।  फाईभजी विस्तारमा एनसेलको हाराहारीमा टेलिकमले थप लगानी गर्नुपर्ने देखिएको छ ।   यो सेवा आएपछि मोबाइलमा इन्टरनेटको गति अहिलेको भन्दा सतप्रतिशत छिटो हुनेछ । नेपालमा पनि डेटाको माग क्रमशः बढ्ने भएकाले भविष्यमा मागलाई पूरा गर्न फाईभजी अनिवार्य हुने देखिएको छ ।  

नेपाल फाईभजी सेवाका लागि तयार छ । रोलआउटमा ढिलाइ हुँदा नेपाल समग्र विकासको हिसाबले पछाडि पर्ने देखिएको छ ।

यस्तो छ टेलिकम बजार 

सन् २०१७ मा ९७ अर्ब ३० करोड रुपैयाँबराबरको टेलिकमको व्यापार भएको थियो । त्यसपछि निरन्तर ओरालो लाग्दै आएको छ ।  आगामी २०२८–०२९ मा मोबाइल व्यापार घटेर ५६ अर्ब ३७ करोड २० लाख रुपैयाँमा सीमित हुने प्रक्षेपण गरिएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  ०८:३९
प्रतिक्रिया दिनुहोस्