काठमाडौं । नेपाली खेलकुदमा ऐतिहासिक पदक दिलाउन सफल करातेकी एरिका गुरुङ नगद पुरस्कारसहित सम्मानित भएकी छन् । नेपाल कराते महासंघले आइतबार पत्रकार सम्मेलनमार्फत नेपाली खेलकुद र करातेकी सबैभन्दा सफल खेलाडी एरिकालाई नगद दुई लाख रुपैयाँसहित सम्मान गरेको हो ।
उनको नाममा नेपाली करातेमा ऐतिहासिक पदकहरू जोडिएका छन् । उनै एरिका नेपाल खेलकुद पत्रकार मञ्चमा आयोजित एक कार्यक्रमबीच सम्मानित भएकी हुन् । नेपाल कराते महासंघ अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङले एरिकालाई दुई लाखबराबरको चेक र सम्मानपत्र हस्तान्तरण गरे । एरिकाले गत जेठ १९ गते मोरक्कोमा सम्पन्न विश्व कराते वान प्रिमियर लिगमा कांस्य पदक जितेकी थिइन् । यो पदक नेपाली करातेमा ऐतिहासिक र पहिलो हो ।
यसै सफलताका कारण महासंघले उनलाई सम्मान गरेको हो । उक्त सम्मान कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका कराते प्रशिक्षक मन्डेकाजी श्रेष्ठ पनि उपस्थित थिए । विश्व कराते महासंघका उत्कृष्ट ३२ खेलाडीले मात्र खेल्न पाउने प्रिमियर लिगमा एरिकाले कांस्य पदक जितेकी हुन् ।
एरिकाले कांस्य पदक भिडन्तमा फ्रान्सकी खेलाडीलाई हराउँदै ऐतिहासिक पदक जितेकी थिइन् । एरिकाले फ्रेन्च खेलाडी क्लेमेन्स पिएलाई हराउँदै सो सफलता पाएकी हुन् । यो कराते लिग विश्वकै सबैभन्दा प्रतिष्ठित प्रतिस्पर्धा हो । एरिका विश्वको उत्कृष्ट ३२ को सूचीमा थिइनन् । कुनै खेलाडीले नाम फिर्ता लिँदा यसमा सहभागी हुन पाइन्छ ।