site stats
बाह्रखरी :: Baahrakhari
देश
सिंहदरबारभित्र चल्छ फेसबुक, कर्मचारी आश्चर्यचकित !

काठमाडौं । सरकारले २५ सामाजिक सञ्जाल निष्क्रिय बनाएको भए पनि देशकै प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबारभित्र सक्रिय छ । मन्त्रालयले जडान गरेका इन्टरनेटमा फेसबुक, एक्स (ट्विटर) ह्वाट्सएपलगायत सामाजिक सञ्जाल चलाउन सकिन्छ ।

सञ्चार तथा सूचना प्रविधि, अर्थ मन्त्रालयमा सामाजिक सञ्जाल सक्रिय नै छ । सर्वसाधारणले जडान गरेका इन्टरनेट र डाटामा सामाजिक सञ्जाल फेसबुक, एक्स, युट्युब नचल्ने तर मन्त्रालयमा चलेको देखेर कर्मचारी पनि आश्चर्यमा छन् ।

अर्थ मन्त्रालयका एक कर्मचारीले त उल्टै बाह्रखरीकर्मीसँग प्रश्न गरे । “सामाजिक सञ्जाल घरमा नचल्ने अफिसमा चल्ने कसरी हुन्छ ?,” ती कर्मचारीले सोधे ।

सरकारले सूचीकरण हुन नआएका सामाजिक सञ्जाललाई यही भदौ १९ गतेदेखि नेपालमा प्रयोगकर्तामाझ निष्क्रिय गरेको छ । हाम्रो पात्रो र ग्लोबल डाइरी भने सूचीकरण हुन आएपछि सक्रिय बनाइएको सञ्चार मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, तोकिएका कागजातसहित सूचीकरण हुने सामाजिक सञ्जाललाई सक्रिय गरिनेछ । आइतबार (भदौ २२)सम्म एक्स र विच्याटले सूचीकरणका निम्ति आवश्यक जानकारी माग गरेको मन्त्रालयले जनाएको छ ।

देशमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाल प्लेटफर्म सूचीकरण हुनुपर्नेछ । नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारी तोकी सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० अनुसार सूचीकरण हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

सूचीकरण हुन नआएका फेसबुक (मेटा), म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स, लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्डलाई सरकारले निक्रिय बनाएको छ ।

पिन्ट्रेस्ट, सिग्नल, थ्रेड्स, विच्याट, कोरा, टम्बलर, क्लब हाउस, मास्टोडन, रम्बल, मिवी, भीके, लाइन, इमो, जालो र सोल पनि निष्क्रिय छन् ।

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्