जुम्लाको चिसो बिहान । पैंसठ्ठी वर्षीय धनबहादुर परियारलाई साधारण ज्वरोले सतायो । धनबहादुरको छोरा सिटामोल लिन स्वास्थ्य चौकी गए । स्वास्थ्य चौकीमा ताल्चा लागेको थियो । खटिएका स्वास्थ्यकर्मी कोही थिएनन् । कर्णाली प्रदेशले करारका कर्मचारी कार्यालयमा नआउनु भनिसकेपछि वडाका स्वास्थ्य एकाइहरूमा स्वास्थ्यकर्मी कर्मचारी केही दिन अनुपस्थित हुने भनेका थिए । स्थायी कर्मचारीहरू प्रायः पालिका केन्द्रतिरै हुने गर्थे । दस रुपियाँको सिटामोल लिन धनबहादुरको छोरा २ घन्टा लगाएर नजिकैको सानो बजारमा गए । बजारमा गएर सामान्य सिटामोल माग्दा मेडिकल पसलमा साधारण सिटामोल भेटिएन । धन बहादुरको छोरा मेडिकलको विद्यार्थी भएकाले सुरुमा धेरै मात्राको महँगो औषधिभन्दा ५०० एमजी को सिटामोल खोजिरहेका थिए । अर्को मेडिकलमा जाँदा पनि प्लेन सिटामोल रहेनछ । अन्तत: धनबहादुरको छोरा Dolo–650 किन्न बाध्य भए ।
यो घटना अपवाद होइन । कर्णालीमा साँच्चै ५०० एमजीको सिटामोल पाउन गाह्रो हुन्छ तर महँगा विभिन्न ब्रान्डका ६५० एमजीका सिटामोल भने सहजै भेटिन्छ । औषधि आपूर्ति प्रणालीको असमानता र असन्तुलनका कारण कर्णालीका जनताले यस प्रकारको समस्या भोगिरहेका छन् । यसले देखाउँछ हाम्रो औषधि आपूर्ति प्रणालीमै समस्या छ । बिरामीलाई सस्तो आधारभूत औषधि नपुग्ने तर महँगो औषधि सजिलै पुग्ने हुनु विडम्वना हो ।

फापर, कोदो बेचेर रोबोबुल (रेडबुल भनेर बेचिने अर्को ब्रान्ड) खान्छन् कर्णालीवासी । कर्णालीमा रेड बुल, कोकाकोला, इन्स्टेन्ट नुडल्स, मिठाइ, तेल, मसला सबै छ । तर किसानको खेतमा उब्जिएका ताजा तरकारी, स्वास्थ्यका लागि आवश्यक फलफूल खोज्न भने गाह्रो पर्छ । शरीरलाई चाहिने पोषण चाहिँ नपाइने अवस्था छ । आफुले गरेको अर्गानिक उत्पादन विक्री गरेर बजारको वस्तु खरिद गरिन्छ कर्णालीमा । मार्सी चामल बेचेर सेतो चामल आउँछ । अनि बजारको वस्तुहरू प्रायः मिति नाघेका हुन्छन् । उपभोक्तालाई झुक्याउने नक्कली ब्राण्डको वस्तु छ्यापछ्याप्ती पाइन्छन् । चुइँगमदेखि कोक, रेडबुल सबै नक्कली ब्रान्डको पाइन्छन् ।
तुइन हैन गाडी चढ्छन् साहसी कर्णालीवासी
यातायातको तस्बिर पनि बाहिरबाट हेर्दा चम्किलो देखिन्छ । गाउँगाउँमा गाडी गुड्छन् । तर बसभित्रको वास्तविकता अर्कै छ । बाटो साँघुरो छ । कहिले माथिबाट ढुंगा खस्छ, कहिले चिप्लो हिलोमा गाडी अड्किन्छ । चालकले गाडी रोक्दै यात्रुलाई भन्छन् - 'अब यहीँबाट अर्को सवारी खोज्नुस्' यात्रु अलपत्र पर्छन्।
यात्रु जंगलमै रात बिताउन पनि बाध्य हुनसक्छन् । कर्णालीमा भाडा तिरेर गाडी चढ्दा यत्रो जोखिम सामना गर्नुपर्ने हो भने विकास के हो? सडक ठीकै भएको अवस्थामा चालक सहचालकको लापरबाहीले गर्दा पनि एक ठाउँ भन्दै चढेको यात्रु त्यहाँ नपुग्दै झर्नुपर्छ । अलपत्र पर्ने अवस्था त कति हो कति ?
कर्णालीका विद्यार्थीहरूको एसईई मा आउँछ ए ग्रेड
शिक्षामा पनि यस्तै कथा छ । हुम्लाको एउटा सरकारी विद्यालयमा एसईई को तयारी गर्दैगरेका विद्यार्थीहरू बिहान बिहान कापीकिताब लिएर कक्षामा बस्छन् । तर चिसो बढ्दा कक्षा नै चल्दैन । वर्षभर पढाइ अधुरो हुन्छ । परीक्षामा शिक्षकले नै उत्तर देखाउने, चोराउने काम सामान्य मानिन्छ । विद्यालयमा A ग्रेड ल्याएको एक विद्यार्थीलाई कसैले काठमाडौं लेख्न लगायो भने लेख्न जान्दैन । शिक्षक हाँस्दै भन्छन् – 'अंक त ल्याउँछ तर ज्ञान अलि कमजोरै छ ।'
छात्रवृत्ति प्रणालीमा पनि विसङ्गति छ। दुर्गम गाउँमा भेडा चराउँदै विद्यालय जाने विद्यार्थीको जीवन कस्तो हुन्छ कसैले सोध्दैन। बरु बाहिर बस्ने र आफ्ना छोराछोरीलाई निजी स्कुलमा पढाउने अभिभावकले दुर्गमकै विद्यालयमा नाम भरेर छात्रवृत्ति लिन्छन् । वास्तविक दुर्गमका विद्यार्थी वञ्चित हुन्छन् ।
कर्णालीका समस्या स्वास्थ्य, खाना, यातायात र शिक्षामात्र होइनन् । यहाँ अझै पनि धेरै गाउँमा बिजुली पुगेको छैन। कतै मोबाइल टावर देखिन्छ तर नेटवर्क आउँदैन । पाइप तानिएको छ तर धारा सुक्खा हुन्छ । खेत छन् तर सिँचाइ छैन । युवा रोजगारीको खोजीमा भारत वा खाडी जान बाध्य छन् ।
कर्णालीको आवाज प्रायः राजधानीमा सुन्न सकिँदैन । राजधानीमा विकासका भाषण गुञ्जिन्छन्—सडक बनेका छन्, भवन बनेका छन्, गाडी पुगेका छन् भनेर । तर यहाँका जनताले भने सस्तो औषधि खोजिरहेका छन्, पौष्टिक खाना खोजिरहेका छन्, सुरक्षित बाटो खोजिरहेका छन्, ज्ञान दिने शिक्षा खोजिरहेका छन् ।
जुम्लाको धनबहादुरजस्ता वृद्ध, जंगलमै रात बिताएका यात्रु, कक्षामा चिटिङ गर्दै अंक पाउने विद्यार्थी—यी सबै कथा एउटै कुरा भन्छन् : विकासको भाषण पर्याप्त छैन, जनतालाई प्रत्यक्ष अनुभूति हुने सुविधा चाहिन्छ ।
कर्णाली अझै प्रश्न गरिरहेको छ — पाँच रुपैयाँको सिटामोल कहिले आउला ? गाउँगाउँमा पौष्टिक खाना कहिले पुग्ला ? यात्रुले तिरेको भाडासँग मेल खाने सुरक्षित सेवा कहिले पाउँला ? विद्यालयले अंक होइन ज्ञान दिने अवस्था कहिले आउला ?
कर्णाली बदलिन अझै धेरै बांकी छ । अन्य ठाउँ, देश बदलिएको गतिमा बदलिए पो बदलिएको मान्नु । समयक्रमअनुसार भएको नगन्य परिवर्तनलाई के परिवर्तन मान्नु खै ? (सुर्खेत)