site stats
बाह्रखरी :: Baahrakhari
खेल
कस्तो रह्यो घरेलु मैदानमा मेसीको 'अन्तिम खेल' ?

काठमाडौं । फिफा विश्वकप–२०२६ दक्षिण अमेरिकी छनोटमा बिहीबार अर्जेन्टिना प्रतिस्पर्धामा उत्रिँदा राजधानी ब्युनर्स आयर्सको मोनुमेन्टल रंगशाला भरिभराउ थियो । अर्जेन्टिनाले आयोजना गरेको विश्वकप–२०२६ छनोटको यो नै सम्भवत: अन्तिम खेल हो । तर, रंगशाला भरिभराउ हुनुको एकमात्र कारण भने यो होइन ।

बिहीबार भेनेजुयलालाई आतिथ्यता प्रदान गर्दा अर्जेन्टिनी कप्तान लियोनल मेसी घरेलु मैदानमा विश्वकप छनोटको अन्तिम खेल खेल्दै थिए । विश्व फुटबलमै फरक पहिचान बनाएका मेसीका खेल हेर्न स्वाभाविकरूपमा अर्जेन्टिनी समर्थक रंगशाला ओइरिए ।

मेसी आफैँले पनि आफ्नो सपरिवारलाई रंगशालामा निम्त्याएका थिए । खेल सुरु हुनुअघि नै मेसीले आफ्ना तीनवटै छोराहरूलाई मैदानभित्र लिएर गए ।

Messi-(9)-1757064151.jpg
घरेलु समर्थकमाझ छनोटको अन्तिम खेल खेल्दै गर्दा मेसी निकै भावुक बने । अर्जेन्टिनाले खेलअघि ‘वार्मअप’ गर्दा नै मेसीको भावकुता आँखामा छल्किएको थियो ।

“यसरी घरेलु समर्थकमाझ अन्तिम बिदाइ सधैँ मेरो सपना थियो । मैले बार्सिलोनाका समर्थकबाट धेरै माया पाएँ । र, मैले यस्तै माया देशबाट पनि खोजिरहेको थिएँ । यो मेरो सपना थियो,” घरेलु मैदानमा अन्तिम भनिएको खेलपछि मेसीले भने, “यो (अन्तिम खेल) मैले अपेक्षा गरेको, चाहेको र खोजेको चिज होइन । तर, समय बित्दै गयो । यो धेरै वर्ष भइसक्यो ।”

Messi-(5)-1757064138.jpg
अर्जेन्टिनाले मेक्सिको, अमेरिका र क्यानडामा आयोजना हुने आगामी फिफा विशवकपमा स्थान बनाउने क्रममा भेनेजुयलालाई ३–० ले पराजित गर्‍यो । जसमा मेसी आफैँले दुई गोल गरे । अर्जेन्टिनाबाट अर्को एक गोल लौटारो मार्टिनेजको नाममा रह्यो ।

मोनुमेन्टल रंगशाला त्यही मैदान हो, जहाँ मेसीले पराजय बेहोरेका छैनन् । यहाँ भएका २८ खेलमा अर्जेन्टिना मेसीसहित मैदान उत्रिएको छ । जसमध्ये २२ खेलमा अर्जेन्टिनाले जित निकाल्दा ६ खेलमा बराबरीको नतिजा आत्मसात् गरेको तथ्यांकले देखाउँछ ।

तीन वर्षअघि कतारमा अर्जेन्टिनालाई विश्वविजेता बनाएका मेसीले विश्वकप–२०२६ को दक्षिण अमेरिकी छनोटमा ३६ गोल गरेका छन् । मेसीले आफ्नो राष्ट्रिय खेल करियरमा १९८ खेल खेल्दा ११४ गोल गरेका छन् । उनले सन् २००५ मा राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए ।

Messi-(3)-1757064126.jpg
घरेलु मैदानमा मेसीको यो अन्तिम खेल भनिएको छ । तर, प्रशिक्षक लियोनल स्कालोनीले मेसीको चाहना भए घरेलु मैदानमा यो नै मेसीको अन्तिम खेल नहुने बताए ।

“पक्कै पनि यो अर्जेन्टिनामा मेसीको अन्तिम खेल हुने छैन । यदि मेसी अर्जेन्टिनामा अझ खेल्न चाहन्छन् भने हामी त्यसलाई पक्कै पनि पूरा गर्नेछौँ । किनभने मेसी यी सबै कुराका निम्ति योग्य छन्,” स्कालोनीले भने ।

प्रतिष्ठित फुटबल अवार्ड बालेन डी’ओरको आठ पटकका विजेता मेसीको नेतृत्वमा अर्जेन्टिनाले विश्वकपमा स्थान बनाइसकेको छ । दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले १७ खेलबाट ३८ अंक जोडेको छ । अब अर्जेन्टिनाले छनोटको अन्तिम खेलमा इक्वेडरविरुद्ध खेल्दै छ ।

Messi-(6)-1757064140.jpg
यो खेल इक्वेडरमा सेप्टेम्बर १० मा हुने तालिका छ । तर, यसमा मेसी अनुपस्थित रहने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले खुलाएका छन् । यसो भए, मेसीले अब आगामी वर्ष हुने विश्वकपमा मात्रै अर्जेन्टिनाको जर्सी लगाउनेछन् ।

Messi-(4)-1757064127.jpg

Messi-1757064111.jpg

Messi-(2)-1757064111.jpg

Messi-(8)-1757064146.jpg

Messi-(7)-1757064143.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  १५:०८
प्रतिक्रिया दिनुहोस्