काठमाडौं । काठमाडौं प्रहरीले ‘प्रहरी विट टु वृत्त’ अभियान चलाएको छ । समुदायस्तरमै शान्तिसुरक्षाका लागि प्रहरीको सबैभन्दा सानो इकाइ विटबाट हुने भएकाले विट टु वृत्त अभियान थालेको हो ।
अभियानअन्तर्गत विटबाट खटिने प्रहरीका लागि आवश्यक भौतिक संरचना बलिया बनाएर सुरक्षामा खटिने प्रहरी कर्मचारीको मनोबल बढाइने काठमाडौं प्रहरीका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए ।
अभियानअन्तर्गत एसएसपी अधिकारीले काठमाडौं महानगरपालिका–१८, डल्लुस्थित विटकोसमेत उद्घाटन गरेका छन् । वडाको सहयोगमा जीर्ण विट नयाँ निर्माण भएको हो । प्रहरी वृत्त जनसेवाअन्तर्गत पर्ने उक्त विट निर्माणका लागि वृत्तका प्रमुख डीएसपी कृष्ण चन्दको पहलमा विट निर्माण गरिएको हो ।

विट उद्घाटन गर्दै एसएसपी अधिकारीले अब विटहरूको भौतिक संरचना निर्माणका वृत्त प्रमुखहरूलाई निर्देशन समेत दिए । पछिल्लो समय जनसेवा प्रहरीले जीर्ण बन्दै गएका प्रहरी कार्यालय निर्माण गर्दै आएको छ ।
काठमाडौंमा रहेका कुल ७३ प्रहरी बिटमध्ये दुई दर्जन बिट जीर्ण अवस्थामा छन् ।