काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिका–६, रतौलीस्थित आदर्श माध्यमिक विद्यालयमा छेपारो परेको खाजा खाएपछि ७० भन्दा बढी बालबालिकालाई अस्पताल पुर्याइएको छ । खाजामा छेपारो परेको थाहा पाएपछि उनीहरूलाई अस्पताल पुर्याइएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश महतोका अनुसार, बिहीबार (भदौ १९) दिउँसो एक विद्यार्थीलाई प्लेटमा दिइएको खाजामा छेपारो देखिएको थियो । बालकले उक्त खाजा फालेर घर फर्केर अभिभावकलाई जानकारी गराएका थिए । त्यसपछि अरू बालबालिकाले पनि वाकवाकी लागेको बताएका थिए ।
अभिभावक र विद्यालयले खाजा खाएका सबै बालबालिकालाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पुर्याएका हुन् । प्रादेशिक अस्पतालका आकस्मिक कक्षका उज्ज्वल झाका अनुसार, बालबालिकामा कुनै स्वास्थ्य समस्या देखिएको छैन । उनीहरू डराएकाले निगरानीका निम्ति अस्पतालमा राखिएको झाले बताए ।
उपचारका निम्ति पुर्याइएका उनीहरू सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । कतिपय बालबालिका उपचारपछि घर समेत फर्किसकेका छन् । केही बालबालिकालाई अझै अस्पतालमा राखिएको छ ।
यता, पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले विद्यालयको दिवा खाजामा छेपारो कसरी पर्यो भन्ने विषयमा छानबिन गरेर दोषीमाथि कारबाही गरिने चेतावनी दिएका छन् । न्युज एजेन्सी नेपाल