काठमाडौं । देशका केही साना नदीमा आज (भदौ २०) पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस दिन दोलखा, सिन्धुपाल्चोक, रामेछाप र नुवाकोटमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको ‘उच्च’ सम्भावना रहने औँल्याइएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।
इलाम, झापा, ताप्लेजुङ, संखुवासभा, पाँचथर, ओखलढुंगा, खोटाङ, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, लमजुङ, दैलेख, सुर्खेत, जुम्ला, बझाङ, बैतडी र दार्चुला भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको ‘मध्यम’ सम्भावना रहने महाशाखाको अनुमान छ ।
शुक्रबार बिहानको मापनमा कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तल छ । कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।