काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसी घरेलु मैदानमा अन्तिम पटक अर्जेन्टिनाको जर्सीसहित विश्वकप छनोटमा प्रतिस्पर्धा गर्दै छन् । घरेलु मैदानमा आफ्नो अन्तिम खेलबारे मेसीले गत साता नै विशेष सन्देश दिएका थिए ।
३८ वर्षीय मेसीको नेतृत्वमा रहेको अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोटबाट शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान बनाइसकेको छ । घरेलु मैदानमा हुने यस खेलका निम्ति मेसीको परिवारका सबै सदस्यको उपस्थिति रहने रोयटर्सले जनाएको छ ।
अर्जेन्टिनाले नेपाली समयअनुसार शुक्रबार बिहान ५ः१५ बजे भेनेजुयलाविरुद्ध खेल्ने तालिका छ । यो खेल राजधानी ब्युनर्स आयर्सस्थित मोनुमेन्टल रंगशालामा हुने छ । “यो मेरो लागि विशेष हुनेछ, किनकी यो मेरो घरेलु मैदानमा विश्वकप छनोटको अन्तिम खेल हो । यसपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण वा अरु खेल हुनेछन् भन्नेबारे म अनभिज्ञ छुँ,” आठ पटकका बालोन डी‘अर विजेता मेसीले गत साता भनेका थिए ।
तीन वर्षअघि कतारमा विश्वकपको उपाधि जित्दा अर्जेन्टिना मेसीकै कप्तानीमा उत्रिएको थियो । मेसीले त्यसअघि सन् २०२१ को कोपा अमेरिका, फाइनालिसिमा र २०२४ मा पनि अर्जेन्टिनालाई च्याम्पियन बनाएका थिए ।