site stats
बाह्रखरी :: Baahrakhari
खेल
समूह चरणको अन्तिम खेलमा राप्तीको संघर्षपूर्ण जित

काठमाडौं । एन्फा महिला लिग छनोटमा राप्तीले चर्च ब्वाइज युनाइटेडविरुद्ध २–१ को जित निकालेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा राप्तीलाई जित दिलाउन मनिशा सेनले एक गोल गरिन् । राप्तीले एक आत्मघाती गोल उपहार पाएको हो । चर्च ब्वाइजकी वर्षा ओलीले गोल गरे पनि टोलीको हार टार्न सकिनन् ।

खेलको १४औँ मिनेटमा चर्च ब्वाइजकी सरिताकुमारी नाथबाट आत्मघाती गोल उपहार पाएपछि राप्तीले १–० को अग्रता कायम गर्‍यो । खेलको ६१औँ मिनेटमा राप्तीकी मनिशाले अग्रतालाई दोब्बर बनाइन् ।

खेलको इन्जुरी टाइममा चर्च ब्वाइजकी वर्षाले एक गोल फर्काइन् । तर, उनको गोल टोलीलाई खेलमा फर्काउन पर्याप्त थिएन ।

जितसँगै समूह ‘ए’मा रहेको राप्तीले १३ अंकका साथ समूह चरण टुंग्याएको छ । राप्तीले ६ खेल खेल्दा चार जित, एक बराबरी र एक हार बेहोरेको छ ।

पराजित भएसँगै चर्च ब्वाइज समूहको दोस्रो स्थानमा झरेको छ । पहिलो हार बेहोरेको चर्च ब्वाइजले समूहमा चार जित र एक हारका साथ १२ अंक बनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  १४:३०
प्रतिक्रिया दिनुहोस्