site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ड्रोनमार्फत सगरमाथा क्षेत्रको फोहोर संकलनमा एयरलिफ्टलाई बीवाईडीको साथ

काठमाडौं । पर्यटक र आरोहीको बढ्दो चापसँगै सगरमाथामा फोहोर थुप्रिएपछि ड्रोनमार्फत फोहोर संकलन गरिएको छ । हिमाललाई जलवायु परिवर्तनको असरबाट बचाउने उद्देश्यका साथ सगरमाथामा भएको फोहोर ढुवानीमा पछिल्लो समय ड्रोन प्रविधिको प्रयोग गरिएको हो ।

विद्युतीय सवारी बीवाईडीको नेपालका लागि आधिकारिक विक्रेता साइमक्स इंकले नेपालको ड्रोन कम्पनी एयरलिफ्ट टेक्नोलोजीसँगको समन्वयमा ड्रोनमार्फत फोहोर संकलन गरेको हो ।

साइमक्स इंकका अनुसार, कम्पनीले सगरमाथा क्षेत्रबाट एक हजार केजी फोहोर संकलनको लक्ष्यसहित काम गरिरहेको छ । बीवाईडीले विश्वव्यापीहरूमा ‘कुल द अर्थ वाई वान डिग्री’ नाराका साथ जलवायु परिवर्तनविरुद्ध सुरु गरेको अभियानअन्तर्गत नै नेपालमा सगरमाथा क्षेत्रमा फोहोर संकलन अभियान सुरु गरेको हो ।

उक्त अभियान स्वच्छ ऊर्जाको प्रवर्धन र शून्य कार्बन उत्सर्जनमार्फत पृथ्वीको तापक्रम वृद्धिलाई नियन्त्रणमा राख्ने उद्देश्यले विश्वव्यापीरूपमा सुरु गरिएको हो । साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साहिल श्रेष्ठले आफूहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक र प्राविधिकरूपमा यस अभियानमा जोडिएको बताए ।

आफूहरूले सगरमाथालाई बचाउन र जलवायु परिवर्तनको न्यूनीकरणका लागि सहयोग पुगोस भन्ने उद्देश्यले आफूहरूले उक्त अभियान सुरु गरेको उनको भनाइ छ ।

“सगरमाथा हाम्रो राष्ट्रिय गौरव हो, यसको संरक्षणमा प्रविधिको उपयोग गर्दै सकारात्मक प्रभाव पार्न हामी क्रियाशील छौँ, हामी सधैँ दिगो विकास र स्वच्छ वातावरणका पक्षमा छौँ र यो अभियान त्यसकै निरन्तरता हो,” उनले भने ।

एयरलिफ्ट टेक्नोलोजीका निर्देशक मिलन पाण्डेका अनुसार, फोहोर संकलनमा प्रयोग हुने ड्रोनहरूले झन्डै १५ मिटर प्रतिसेकेन्डको गति र १५ डिग्री सेल्सियसको चिसोमा काम गर्न सक्छन् । यसले सगरमाथा क्षेत्रमा सफाइका लागि परम्परागत जोखिम घटाउने गरी काम गर्ने अपेक्षा गरिएको छ ।

निर्देशक पाण्डेका अनुसार, सगरमाथाको माथिल्लो क्षेत्रमा भएको फोहोर ढुवानीमा छ देखि सात घण्टा लाग्ने गरेकामा अब प्रविधिको प्रयोगले भने एकदेखि दुई मिनेटमा सम्भव भएको उनको भनाइ छ ।

उनका अनुसार, सगरमाथाको ६ हजार १३० मिटरको उचाइमा रहेको फोहोर ड्रोनको प्रयोग गरी आधारशिविरमा ल्याउने काम भइरहेको छ।

सगरमाथा प्रदूषण नियन्त्रण समिति र खुम्बु पासाङल्हामु गाउँपालिकाको सहकार्यमा फोहोर व्यवस्थापन भइरहेको छ ।

“हामीले यसअघि सन् २०२४ मा सगरमाथाको क्याम्प–१ बाट २३४ केजी र अमादब्लम हिमालबाट ६४१ केजी फोहोर संकलन गरेका थियौँ, यसपटक साइमेक्स इंकको सहकार्यमा सगरमाथा क्षेत्रबाट दुई सय ८६ केजी फोहोर संकलन भइरहेको छ, अब अमादब्लम र मनास्लुबाट फोहोर संकलनको योजना छ,” उनले भने।

एयरलिफ्ट टेक्नोलोजीले सगरमाथामा फोहोर संकलनपछि यो अभियानलाई अन्य हिमाली क्षेत्र र राष्ट्रिय निकुञ्जमा विस्तार गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  १३:५४
प्रतिक्रिया दिनुहोस्