शिक्षा बालबालिकाको बौद्धिक, सामाजिक र भावनात्मक विकासको मेरुदण्ड हो । शिक्षाले नै उनीहरूलाई जीवनयात्राका लागि तयार बनाउँछ । तर, हाम्रो शिक्षाप्रणाली र सामाजिक सोचाइले भने शिक्षालाई साँगुरो बनाइदिएको छ ।
प्रत्येक बालबालिकाको आफ्नै गति, रुचि र क्षमता हुन्छ । हामी भने उनीहरूलाई एउटै तराजुमा तौलन खोज्छौँ । फलस्वरूप, उनीहरूको मौलिक प्रतिभा ओझेलमा पर्छ । शिक्षकले पाठ्यक्रम पूरा गर्नुपर्ने दबाब, अभिभावकको अत्यधिक अपेक्षा र समाजको तुलनात्मक प्रतिस्पर्धाको संस्कृतिले गर्दा धेरै बालबालिकाले आफूलाई अक्षम ठान्न थाल्छन् । त्यसबाट उनीहरूको आत्मसम्मानमा ठेस पर्न जान्छ र स्वतन्त्रता कमजोर हुँदै जान्छ ।
आजका अभिभावकहरूले सन्तानलाई हरेक कदममा मार्गदर्शन र सुरक्षा दिइरहेका हुन्छन् । सधैं वरिपरि घुम्ने हेलिकप्टर प्यारेन्टिङ (Helicopter Parenting) ले तत्कालीन अवस्थामा सहज त बनाउँछ तर बालबालिकाले आफ्नै गल्तीबाट सिक्ने र निर्णय लिन सक्ने क्षमताको विकास भने कमजोर हुन्छ। यसले दीर्घकालीनरूपमा आत्मविश्वास र आत्मनिर्भरतामा नै गम्भीर असर पार्छ । त्यसमाथि, सन्तानसँग अत्यधिक अपेक्षा राख्दा उनीहरूको आत्मविश्वास घट्दै जान्छ र सिकाइप्रतिको उत्साह पनि कम हुँदै जान्छ ।
आत्मनिर्भरताको पाठ
धेरैजसो अभिभावक आफ्ना बालबालिकाको दैनिक शिक्षण प्रक्रियामा खासै सक्रिय हुँदैनन् तर नतिजा कमजोर भयो, गृहकार्य अधुरो भयो भने शिक्षकलाई दोष दिन पनि हिचकिचाउँदैनन्। यसैबीच, मोबाइल, ट्याब्लेट, कम्प्युटरजस्ता आधुनिक ग्याजेटहरू बालबालिकाको हातमा सजिलै पुगिरहेका छन् । अभिभावकहरूले सुविधा र मनोरञ्जनका लागि दिएका यी साधनले उनीहरूको समय, ध्यान र सम्बन्धमै हस्तक्षेप गरिरहेका छन् । अत्यधिक प्रयोगले सन्तानको मानसिक विकास, कल्पनाशक्ति र जीवनसँग जुध्ने क्षमता कमजोर पारिरहेको सत्य धेरै अभिभावकलाई थाहा नहुन सक्छ ।
यसैगरी, अत्यधिक माया र नियन्त्रणले बालबालिकालाई आफ्नै समस्या हल गर्ने मौका दिँदैन । नतिजास्वरूप उनीहरू कठिनाइसँग जुध्न सिक्दैनन् र आत्मनिर्भरताको गुण क्रमशः कमजोर हुँदै जान्छ । प्रकृतिको नियम पनि स्पष्ट छ : आँधीहुरी, घामपानी, असिनापानी खपेरमात्रै रूख बलिय। बन्छ । त्यसैले बालबालिकालाई सधैँ सजिलो बाटो देखाउनु उनीहरूलाई वास्तविक जीवनका हुरीबताससँग जुध्न नदिनु हो । त्यसो गर्दा तत्कालीन समस्या टरे पनि भविष्यको यात्रामा आत्मनिर्भरताको बाटो थुनिन्छ ।
सानोतिनो गल्ती गर्न र त्यसबाट सिक्न दिनु नै उनीहरूलाई जीवनका लागि तयार बनाउनु हो । तर, धेरै अभिभावक अझै पनि सन्तानलाई हातसमातेरै हिँडाउँदामात्र सफल हुन्छन् भन्ने भ्रममा छन् । यस्तो “हातसमात्ने” बानीले आत्मनिर्भरतालाई बन्दी बनाइदिन्छ । आत्मनिर्भरता भनेको आत्मसम्मानमात्र होइन यो त जीवनलाई धान्ने अदृश्य शक्ति हो जसले व्यक्तिलाई भोलिका दिनमा दृढ, सबल र सक्षम बनाउँछ ।
सबल भविष्यको दिशामा
आजको विश्व सिर्जनात्मकता, आलोचनात्मक दृष्टि र सहकार्यात्मक संस्कृतामै टिकेको छ । फिनल्यान्ड र सिंगापुरले देखाएको बाटो यही हो । त्यहाँ शिक्षा प्रतियोगिता होइन सहकार्यमा टिकेको छ । घोकाइमा नभएर बुझाइमा आधारित छ। शिक्षकलाई सम्मान र पारिश्रमिक दिइन्छ भने त्यसको प्रत्यक्ष प्रतिफल विद्यार्थीमा देखिन्छ । त्यहाँका अभिभावकहरूले पनि विकल्प र स्वतन्त्रताको मूल्य बुझेका छन् ।
नेपालमा पनि भविष्यका जिम्मेवार र सृजनशील नागरिक तयार गर्न शिक्षा प्रणालीमा ठोस सुधार आवश्यक छ । अभिभावकलाई सचेत बनाउन, सक्षम बनाउन र उनीहरूलाई सही दिशामा मार्गदर्शन गर्ने कार्यक्रम चलाउनु जरुरी छ । यसले विद्यार्थीको शैक्षिक नतिजामात्र नभई सामाजिक, नैतिक र सांस्कृतिक मूल्यबोध पनि सुदृढ बनाउँछ ।
निष्कर्ष
सन्तानलाई निरन्तर सजिलो बाटो देखाइदिनुभन्दा आफ्नै प्रयासले अघि बढ्न सिकाउनु नै वास्तविक माया हो । शैक्षिक प्रमाणपत्रको अंकभन्दा महत्त्वपूर्ण दीर्घकालीन सफलता, दृढ आत्मविश्वास र आत्मनिर्भरता हो। सन्तानलाई स्वतन्त्रता दिनु, गल्तीबाट सिक्न दिनु र आफ्नै बाटो बनाउन सहयोग गर्नु नै भविष्यमा सक्षम नागरिक तयार गर्ने सबैभन्दा ठोस आधार हो।
(प्रधानाध्यापक, मेरिडियन इन्टरनेसनल स्कुल)