सुर्खेत । यतिखेर जहाजको प्रतीक्षामा छ, कालिकोटको कोटवाडा सुनथराली विमानस्थल । निर्माण प्रारम्भ भएको ३८ वर्षपछि १४ फागुन २०८० मा तत्कालीन उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्का र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
नेपाल एयरलाइन्स र तारा एयरका दुईवटा जहाज अवतरण गराइ उद्घाटन गरिएको थियो । विमानस्थल औपचारिक उद्घाटन भएको दुई वर्ष पुग्यो, तर त्यसयता विमानस्थल जहाजको प्रतीक्षामै छ । त्यसो त, कहिले बजेट अभाव त कहिले सशस्त्र द्वन्द्व कारण ३८ वर्ष लागेको थियो ।
२०४२ सालमा शिलान्यास भएको विमानस्थलको सपना त पूरा भयो, तर सञ्चालनमा नआएपछि कालिकोटबासीको जहाज चढ्ने सपना अझै पूरा हुन सकेको छैन ।
परीक्षण उडान र सपना
विमानस्थल बन्न शुरु भएको ३१ वर्षपछि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीको पहलमा २०७३ साल माघ २९ गते पहिलो परीक्षण उडान भयो । त्यो दिन हजारौँ मानिस जहाज हेर्न भेला भएका थिए ।
परीक्षण उडान गर्ने पाइलट र मन्त्रीलाई स्थानीयले बाजागाजा र फूलमालासहित भव्य स्वागत गरेका थिए । पहिलो परीक्षण उडानसँगै कालिकोटका नागरिकले नियमित उडानको सपना बुनेका थिए, तर यहाँका नागरिकको सपना पनि सपनामै सीमित छ ।
त्यतिबेला मन्त्री शाहीले नियमित उडान निम्ति पहल गर्ने आश्वासन दिएका थिए । तर, उनको कार्यकाल सकिएसँगै यो विमानस्थल मन्त्रीहरूका प्राथमिकताबाट हरायो ।
त्यस अवसरमा उपप्रधान तथा रक्षामन्त्री खड्काले लामो समयपछि निकै मिहिनेत र कठिन परिस्थितिका बाबजुद विमानस्थल उद्घाटन भएको र नियमित उडानका लागि स्थानीय, प्रदेश र संघीय सरकारले पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।
तर उनको प्रतिबद्धता प्रतिबद्धतामै सीमित रह्यो ।
उद्घाटन भएको दुई वर्ष पुग्दा पनि कालिकोट कोटवाडा सुनथराली विमानस्थलमा न जहाज आयो, न उद्घाटन गर्ने नेताहरू फर्किए । विमानस्थल अझै पनि जहाजको पर्खाइमै छ ।
स्थानीय पालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले संघ र प्रदेश सरकारले सहयोग नगरेको गुनासो गर्दै भने, “दुई वर्षदेखि पालिकाले अन्य महत्वपूर्ण काम पन्छाएर पनि विमानस्थल सञ्चालनमा प्राथमिकता दिँदा पनि अब जनतासँग माफी माग्नुपरेको अवस्था आएको छ ।”
अध्यक्ष विष्टका अनुसार, विमानस्थल सञ्चालन भए कालिकोटमा युद्ध पर्यटनको ठूलो सम्भावना छ । सरकारले विभिन्न ठाउँमा भ्यू टावर बनाउनुभन्दा बनेको विमानस्थललाई प्राथमिकता दिनुपर्छ ।
तत्कालीन मन्त्री तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सपना साविक कर्णालीका पाँचै जिल्लामा सहज हवाई सेवा पुर्याउने रहेको बताए । उनी कालिकोट कोटवाडा विमानस्थल पहिलो प्राथमिकतामा परेकै कारण आफू मन्त्री हुँदा पहिलो पटक परीक्षण उडान गराएको बताउँछन् ।
उनको भनाइअनुसार, एक पटक नियमित उडान गर्न सबै तयारी भइसकेको बेला विमानस्थलको भाडा बाजुराको कोल्टीभन्दा महँगो राखिएकाले जहाज आउन सकेन ।
कालिकोटका सांसद तथा पूर्वमन्त्री महेन्द्रबहादुर शाही निर्माण कार्य सम्पन्न गर्न सरकारले धेरै दबाब खेपेको बताए । उनका अनुसार, निर्माण सकिएपछि पनि विमानस्थल उद्घाटन गर्न निकै कठिनाइ भोगिएको थियो । अब नियमित उडानका लागि सरकारले थप आन्तरिक पूर्वाधार बनाउनुपर्छ ।
३५ जनाको चिहानमाथि विमानस्थल
कालिकोट कोटवाडा सुनथराली विमानस्थल बनाउन आएका ३५ जना मजदुरलाई तत्कालीन शाही नेपाली सेनाले २०५८ सालमा माओवादीको आशंकामा लगाउँदै हत्या गरेको थियो ।
धादिङ जोगीमाराका १७ सहित ३५ जनालाई स्थानीय एक विष्टको घरको आँगनमा हत्या गरी एउटै चिहानमा गाडिएको थियो ।
