काठमाडौं । पाँचौँ तथा अन्तिम खेलमा ४४ रनको सहज जित निकालेसँगै भारतको आसाम प्रदेशविरुद्धको ट्वान्टी–२० शृंखला नेपाल ‘ए’ ले जितेको छ । यो जितसँगै नेपालले पाँच खेलको शृंखला ३–२ ले जितेको हो ।
सोमबार (भदौ १६) गुवाहिटीमा सम्पन्न खेलमा नेपाल ‘ए’ ले प्रस्तुत गरेको २०९ रनको लक्ष्य पछ्याएको आसामले २० ओभर नै ब्याटिङ गरे पनि नौ विकेट गुमाएर १६४ रन मात्र बनाउन सक्यो ।
आसामका भार्गव लहकरले सर्वाधिक अविजित २९ रन बनाए । साहिल जैन र कप्तान सुमित घडिअन्करले समान २५ रन थप्दा सौरभ दिहिगाले १७ रन बनाए । नेपालका शेर मल्ल, आकाश चन्द र पवन सर्राफले समान दुई विकेट लिए । बसिर अहमदले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०८ रनको योगफल तयार पारेको थियो । नेपालका सन्दीप जोराले ६४ रन बनाएका थिए । उनले ३९ बलमा पाँच छक्का र दुई चौका प्रहार गरे । शुभ कंसाकारले ४१ तथा इशान पाण्डेले ३२ रन जोडे । आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले समान दुई विकेट लिए ।
यसअघि पहिलो खेलमा नेपालले डकवर्थ लेविस पद्दति (डीएलएस) अनुसार १५ रनको हार बेहोरेको थियो । तर, यसपछि दोस्रो र तेस्रो खेलमा भने नेपालले ९६ र नौ रनको जित निकालेको थियो । चौथो खेलमा नेपाल पुनः १८ रनले पराजित भएको थियो ।