site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ऊर्जासचिव आचार्य सेवा निवृत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा) सुरेश आचार्यले अवकाश पाएका छन् । करिब तीन दशक सरकारी सेवामा बिताएका सचिव आचार्य मन्त्रालयबाट आइतबार (भदौ १५) बिदा भएका हुन् । 

०८१ असोज ६ देखि ऊर्जा सचिवको कार्यभार सम्हालेका आचार्य आइतबार सेवानिवृत भएका हुन् । 

मन्त्रालयमा आयोजित विशेष समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आचार्यलाई दोसल्ला र कदरपत्रसहित बिदाइ गरे । 

बिदाइ कार्यक्रममा मन्त्री खड्काले सचिव आचार्यलाई प्रस्ट विचार राख्ने, काममा कठोर तर इमानदार, जिम्मेवार र सहकार्यको भावना बोकेको कुशल प्रशासक रहेको बताए । “हस्पिटलको बेडमै रहँदा पनि जिम्मेवारीबारे सोच्ने उहाँ जस्ता समर्पित व्यक्ति राज्यको सम्पत्ति हुन् । साहित्य, लेखन र मनोरञ्जनप्रति रुचि राख्ने सचिव आचार्यलाई अवकाशपछि पनि राज्यले विभिन्न क्षेत्रमा उपयोग गर्न सक्नेछ” मन्त्री खड्काले भने ।

सेवाबाट बिदाइ लिँदै आचार्यले सेवाकालमा कसैप्रति कठोर व्यवहार भएको भए त्यसलाई पदको कठोरताका रूपमा बुझिदिन आग्रह गरे ।

“मुलुकको ऊर्जा विकासको यात्रामा मन्त्रीज्यूको नेतृत्वमा सबैको साथ पाएँ । २८ हजार ५ सय मेगावाट उत्पादनको दीर्घकालीन लक्ष्यसहित ऊर्जा विकास मार्गचित्र तयार पर्नेदेखि जलविद्युत्, प्रसारण लाइनदेखि भूमिगत आयोजनाको अनुगमनमा जुट्दा अपार अनुभव पाएँ,” उनले भने, “राज्यले आवश्यकता ठाने भविष्यमा पनि म आफूलाई समर्पित गर्न सधैँ तयार हुनेछु ।”

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १८:३०
प्रतिक्रिया दिनुहोस्