काठमाडौं । गृहमन्त्री रमेश लेखकले पर्साको वीरगन्जस्थित विभिन्न अस्पतालमा उपचाररत हैजा संक्रमित बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । स्वास्थ्य उपचारमा भइरहेको प्रयासबारे पनि उनले जानकारी लिएका गृह मन्त्रालयले जनाएको छ ।
उनले नारायणी, तराई अस्पताल र वीरगन्ज हेल्थकेयरमा उपचाररत बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । शनिबार (भदौ १४) साँझ उनी वीरगन्ज पुगेका थिए ।
गृहमन्त्री लेखकले वीरगन्जमा फैलिएको हैजा महामारी नियन्त्रणका निम्ति नेपाली सेनासहित तीनै सुरक्षा निकायका जनशक्ति खटाइने बताए । महामारी नियन्त्रणका निम्ति सरकार गम्भीर रहेको उनले उल्लेख गरे । अस्पताल प्रशासनबाट माग भए सुरक्षा निकायबाट तत्काल जनशक्ति र औषधि उपलब्ध गराइने उनको भनाइ थियो ।
“नागरिकको जीवन जोगाउन कुनै कमी हुन दिन्नौँ । तपाईंलाई थप जनशक्ति वा औषधि आवश्यक भए नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको चिकित्सक टोलीका साथै औषधि र उपकरण तत्काल उपलब्ध हुन्छ,” उनले भने ।
हैजा पूर्ण रूपमा नियन्त्रणमा ल्याउन सरकारले विशेषज्ञसँग सल्लाह गरेर मूल कारण पहिचान गर्नुपर्नेमा उनले जोड दिए ।
गृहमन्त्री लेखकले हैजा महामारी क्षेत्रको अवस्था बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुई चिकित्सकलाई जिम्मेवारी दिएका मन्त्रालयले जनाएको छ ।