site stats
बाह्रखरी :: Baahrakhari
खेल
राजस्थान रोयल्सको मुख्य प्रशिक्षकबाट द्रविडले दिए राजीनामा
राहुल द्रविड ।

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल)का निम्ति राजस्थान रोयल्सको मुख्य प्रशिक्षक रहेका भारतका महान् ब्याट्सम्यान राहुल द्रविडले पदबाट राजीनामा दिएका छन् ।

टोली व्यवस्थापनको संरचनागत समीक्षापछि ५२ वर्षीय द्रविडलाई ‘थप विशेष जिम्मेवारी’को प्रस्ताव गरिएको थियो । तर, पूर्वभारतीय कप्तानले उक्त प्रस्ताव अस्वीकार गरेका बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “मुख्य प्रशिक्षक राहुल द्रविडले आईपीएल २०२६ अघि फ्रेन्चाइजीमा आफ्नो कार्यकाल समाप्त गर्नुहुनेछ ।”

द्रविड गत वर्षको ट्वान्टी–२० प्रतियोगिताअघि मुख्य प्रशिक्षकका रूपमा टोलीमा आएका थिए । तर, राजस्थान प्लेअफमा १० टोलीको तालिकामा निराशाजनक नवौँ स्थानमा रहेपछि उनको भूमिकाप्रति प्रश्न उठाइएको थियो ।

“राहुल धेरै वर्षदेखि रोयल्सको यात्रामा केन्द्रविन्दुमा रहँदै आउनुभएको थियो,” आईपीएलको सुरुआती (पहिलो) विजेता राजस्थान रोयल्सले भनेको छ, “उहाँको नेतृत्वले खेलाडीहरूको एक पुस्तालाई प्रभावित गरेको छ, टोलीभित्र बलियो मूल्य–मान्यता निर्माण गरेको छ र फ्रेन्चाइजको संस्कृतिमा अमिट छाप छोडेको छ ।”

द्रविड पहिलोपटक सन् २०११ मा राजस्थानमा खेलाडीका रूपमा सामेल भएका थिए । उनले सन् २०१२ र २०१३ मा दुई सिजन राजस्थानको कप्तानी गरेका थिए ।

उनले २०१४ मा एक टोली निर्देशकका रूपमा सेवा गरे । त्यसको एक वर्षपछि संरक्षकका रूपमा सेवा गरेका थिए ।

सन् २०१२ मा द्रविडले सन्न्यास लिनुअघि १६४ टेस्ट म्याचमा १३ हजार २८८ रन बनाएका थिए । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२  १९:५६
प्रतिक्रिया दिनुहोस्