काठमाडौं । ललितपुर महानगरपालिकाले महिला उद्यमीहरूको उत्पादनलाई बजारसम्म पुर्याउन 'एलएमसी हाटबजार' एप सार्वजनिक गरेको छ । महानगरमा दर्ता भएका उद्यमीले उत्पादन गरेका सामग्रीलाई बजारसम्म पुर्याउन एप बनाइएको महानगरले जनाएको छ ।
महिला उद्यमीले आफ्नो उत्पादनको सबै विवरण एपमा राख्नुपर्छ । क्रेताले एपमा राखेका सामान खरिद गर्न लगइन गरी अर्डर गर्न सक्छन् । उत्पादित सामग्री एपमा राख्न उद्यमीले महानगरसँग सम्पर्क गरी लगइन गर्नुपर्छ ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महिलाको उत्पादनलाई बजारीकरणका लागि ल्याइएको एप एक महत्त्वपूर्ण 'टुल' भएको बताए ।
उनले महिला उद्यमीको उत्पादन बजारमा ल्याउन यस एपले धेरै मद्दत गर्ने बताए । उनले सबै महिला उद्यमीलाई यो एप सक्दो प्रयोग गर्न अनुरोध गरे ।
उपप्रमुख तथा महिला उद्यमशीलता सहजीकरण केन्द्रका संयोजक मञ्जली शाक्य बज्राचार्यले उद्यमीले उत्पादन गरेको सामग्रीले बजार नपाइरहेको अवस्थामा बजारसम्म उत्पादनलाई पुर्याउन यो एप महत्त्वपूर्ण हुने बताइन् ।
“उद्यम र व्यवसाय एकै होइन, उद्यमीलाई व्यवसाय सञ्चालन गर्न गाह्रो हुन्छ । यो एपले उद्यमीलाई क्रेतासँग जोड्न सजिलो बनाउँछ, जसले बजार खोज्न सहयोग पुग्छ,” उनले भनिन् ।