काठमाडौं । भारतको आसाम राज्य टिमसँग नेपालको ‘ए’ क्रिकेट टिमले डकवर्थ लेविस पद्दति (डीएलएस) अनुसार १५ रनको हार बेहोरेको छ ।
बिहीबार गुवाहिटीमा भएको खेलमा आसामले टस हारेपछि पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १९० रनको योगफल खडा गरेको थियो ।
१९१ रनको लक्ष्यसहित मैदान उत्रिए पनि आठ ओभरपछि वर्षा हुँदा खेल रोकिएको थियो । निरन्तरको वर्षापछि खेल सम्भव नहुँदा नेपाल डीएलएसअनुसार १५ रनले पराजित भएको हो । आठ ओभरको खेलसम्म नेपालले ६४ रन बनाउँदा तीन विकेट गुमाएको थियो ।
नेपालका शुभ कंशाकारले २१ बलमा तीन चौका र दुई छक्कासहित ३३ रन बनाएका थिए । कप्तान अनिल साहले १४ बलमा चार चौकासहित २० रन जोडे ।
नेपालले अब शुक्रबार आसामसँग दोस्रो खेल खेल्ने छ ।