site stats
बाह्रखरी :: Baahrakhari
देश
बारामा बाघको आक्रमणबाट एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

बारा । बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नं २२ को २ नम्बर पुल निवासी ५५ वर्षीय कृष्णप्रसाद शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

बुधबार बिहान करिब ७ः३० बजेतिर स्कुटर लिएर आधाभार जंगलतर्फ घाँस काट्न गएका शर्मा घर नफर्किएपछि आफन्तले खोजतलास गरेका थिए । खोजतलासका क्रममा जंगलभित्र स्कुटी र घाँस भेटिए पनि उनी फेला परेनन् । त्यसपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीले खोजतलास गर्नेक्रममा त्यही क्षेत्रमा चप्पल र केही रगतको दाग भेटिएको थियो । बुधबार दिउँसो प्रहरी टोली र आधाभार ब्यारेकबाट खटिएको नेपाली सेनाको संयुक्त टोलीले जंगलभित्र शव फेला पारेको बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

शवको टाउको नभएको र बाघले आक्रमण गरेको अवस्थामा भेटिएको प्रवक्ता पण्डितले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

 

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  २१:३५
प्रतिक्रिया दिनुहोस्