सुर्खेत । हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका–५ स्थित काठेचुलीमा एउटा घरमा ठोक्किएर जिप दुर्घटनामा परेको छ । लु.प्र. ०१–००१ज ०२८२ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी विष्णु श्रेष्ठले जिप सिमकोट गाउँपालिका–५ का पदम रावतको घरभित्र पसेर दुर्घटनामा परेको जानकारी दिए ।
श्रेष्ठका अनुसार, सिमकोटबाट सिमकोट तल्लो गाउँतर्फ जाँदै गर्दा जिपको ब्रेक फेल भएर घरमा ठोक्किएको थियो ।
जिप रावतको घरमा पस्दा गाडी चालक खार्पुनाथ गाउँपालिका–१ का तीलक ऐडी सामान्य घाइते भएका छन् । उनको आँखा र माथिल्लो ओठमा सामान्य चोट लागेको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिपमा चालक ऐडीमात्रै थिए ।
जिपले घरको माथिल्लो तलाको एक कोठा पूर्णरूपमा क्षतिग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।