काठमाडौं । अमेरिकाले नेपाली सेनालाई दुईवटा जहाज उपलब्ध गराउने भएको छ । अमेरिकाले एउटा स्काई ट्रक र एउटा एयर एम्बुलेन्स नेपाली सेनालाई उपलब्ध गराउन लागेको हो ।
“अमेरिकाले एउटा स्काई ट्रक र एउटा एयर एम्बुलेन्स गरी दुईवटा जहाज नेपाली सेनालाई उपलब्ध गर्न लागेको छ,” नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बाह्रखरीसँग भने, “यही भदौ महिनाभित्र हस्तान्तरण गर्ने गरी कार्यक्रम बन्दै छ ।”
विपद् व्यवस्थापन र सुत्केरीको उद्धार कार्यक्रमलाई प्रभावकारी बनाउन अमेरिकाले दुईवटा जहाज सेनालाई उपलब्ध गराउन लागेको उनले बताए । “नेपाली सेनालाई जहाज उपलब्ध गराउने समझदारी पहिले नै भएको थियो । सोहीअनुसार अहिले हस्तान्तरण गर्न लागिएको हो,” सैनिक प्रवक्ता बस्नेतले भने ।
दोस्रोपटक राष्ट्रपति भएसँगै डोनाल्ड ट्रम्पले अमेरिकाले दिँदै आएको वैदेशिक सहायतामा व्यापक कटौती गरेका थिए । सोही कटौतीमा सेनालाई उपलब्ध गराउने भनिएको जहाज पनि पर्ने हो कि भन्ने शंका बढेको थियो । तर हालै अमेरिकाले दुईवटा जहाज भदौ महिनाभित्रै नेपाली सेनालाई उपलब्ध गराउने जानकारी गराएको हो ।
२०८१ साउनको अन्तिम साता नेपाल भ्रमणमा आएका तत्कालीन अमेरिकी व्यवस्थापन तथा स्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड वर्माले नेपाली सेनालाई दुईवटा जहाज (स्काई ट्रक) र दुईवटा वेल हेलिकोप्टर दिने सूचना दिएर फर्केका थिए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको भेटमा ती जहाज र हेलिकोप्टर विपद् प्रतिकार्यको लागि अनुदान सहयोग स्वरुप नेपाली सेनालाई उपलब्ध गराउने बताएका थिए ।
वर्मा फर्केपछि अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालको विपद् प्रतिकार्य र हवाई क्षमतालाई सुदृढ बनाउन अमेरिका प्रतिबद्ध रहेको उल्लेख गरिएको थियो ।
अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘फरेन मिलिटरी फाइनान्स’ अन्तर्गत हवाई क्षमता सुदृढ गर्न नेपाललाई १० करोड अमेरिकी डलर (तत्कालीन विनिमयदरनुसार, १३ अर्ब ३८ करोड रुपैयाँ) बराबरको सहायता उपलब्ध गराउने जनाएको थियो । विज्ञप्तिमा विमान तथा हेलिकोप्टरको संख्या भने उल्लेख गरिएको थिएन ।
परराष्ट्रमन्त्री राणाले नेपालको विपद् व्यवस्थापन प्रयासमा सहयोग पुर्याउन दुईवटा विमान (स्काई ट्रक) र दुईवटा वेल हेलिकोप्टर उपहार स्वरुप दिन लागेकोमा वर्मा र अमेरिकी विदेश मन्त्रालयलाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिएकी थिइन् ।
तर, ट्रम्प राष्ट्रपति भएपछि वैदेशिक सहायतामा व्यापक कटौती गरेपछि नेपाली सेनाले प्रतिबद्धता गरेअनुसारको हवाई जहाज र हेलिकोप्टर पाउने वा नपाउने भन्ने अन्योल छाएको थियो । अन्ततः अमेरिकाले नेपाललाई प्रतिबद्धता गरेअनुसार हेलिकोप्टर उपलब्ध गर्न लागेको छ ।
वर्माले नेपाललाई उपलब्ध गराउने भनेको जहाज तथा हेलिकोप्टरको जरो सन् २००२ मा जोडिन्छ, जतिबेला माओवादी सशस्त्र संघर्ष देशमा चर्किएको थियो ।
माओवादी सशस्त्र संघर्ष चर्किएपछि सन् २००२ मा माओवादी दबाउन अमेरिकाले नेपाली सेनालाई दुईवटा स्काई ट्रक दिने प्रतिबद्धता जनाएको थियो । सन् २००२ मा गरेको प्रतिबद्धता पूरा नगर्दै अमेरिकाले सन् २०१५ मा नेपाललाई थप दुईवटा स्काई ट्रक उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।
सन् २०१५ मा नेपालमा विनाशकारी भूकम्प गएपछि अमेरिकाले पहिले गरेको प्रतिबद्धतामा दुई जहाज थप गरी चारवटा स्काई ट्रक नेपाली सेनालाई उपलब्ध गर्ने प्रतिबद्धता जनाएको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि विपद् प्रतिकार्यका निम्ति स्काई ट्रक दिने प्रतिबद्धता अमेरिकाले गरेको थियो ।
सन् २०१९ को जनवरीमा अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका तत्कालीन कमाण्डर एड्मीरल फिलिप एस. डेभिड्सनले नेपाल भ्रमण गरेका थिए । त्यही बेला नेपालले १७ बर्ष पूरानो प्रतिबद्धता सम्झाएको थियो । त्यसपछि उनले प्रक्रिया अघि बढाउन मद्दत गरेका थिए । प्रक्रिया अघि बढेपछि सन् २०१९ मा अमेरिकाले नेपाली सेनालाई दुईवटा स्काई ट्रक उपलब्ध गराएको थियो ।
सन् २०१९ को डिसेम्बरमा नेपाली सेनाले अमेरिकी अनुदान सहयोगमा दुईवटा कार्गो जहाज (स्काई ट्रक) प्राप्त गरेको थियो । ती दुई स्काई ट्रकको मूल्य दुई करोड २४ लाख ७२ हजार ५७५ अमेरिकी डलर थियो ।
सन् २०१९ मा नेपाली सेनाले प्राप्त गरेको दुईवटा एम २८ स्काई ट्रक पोल्यान्डमा पोल्स्की जाकेल्डी लोटनिक्ज कम्पनी (पिजेएल)ले निर्माण गरेको थियो ।
अमेरिकाले सन् २००२ र २०१५ मा प्रतिबद्धता गरेका चारवटा स्काई ट्रकमध्ये नेपाली सेनाले हालसम्म दुईवटा मात्र प्राप्त गरेको छ । दुईवटा प्राप्त गरेको छैन । प्राप्त हुन बाँकी दुईवटा स्काई ट्रक र थप दुईवटा वेल हेलिकोप्टर दिने निर्णय अमेरिकाले गत वर्ष गरेको थियो ।