काठमाडौं । भारतीय अलराउन्डर रविचन्द्रन आश्विनले इन्डियन प्रिमियर लिग (आईपीएल)बाट सन्यासको घोषणा गरेका छन् ।
आश्विनले बुधबार सामाजिक सञ्जालमार्फत आईपीएलमा आफ्नो समय पूरा भएको र अब विश्वभरका लिगको अनुभव लिने समय भएको बताएका छन् ।
“विशेष दिन र विशेष सुरुआत । हरेक अन्त्यसँगै नयाँ सुरुआत हुन्छ भनिन्छ, एक क्रिकेटरको रूपमा मेरो आईपीएल समय समाप्त भएको छ । तर, विश्वभर यो खेलको अनुभव लिने समयको सुरुआत भएको छ,” आश्विनले सामाजिक सञ्जालमा लेखेका छन् ।
आश्विनले सन् २००९ मा चेन्नाइ सुपर किंग्सबाट आईपीएलमा डेब्यु गरेका थिए । त्यसयता उनले आईपीएलमा २२१ खेल खेल्दा १८७ विकेट लिएका छन् । आश्विन सन् २०१० र २०११ मा चेन्नाईले आईपीएलको उपाधि जित्दा टिमका महत्वपूर्ण सदस्य थिए ।