म सानो छँदा यस संसारमा विराटनगरभन्दा ठूलो कुनै सहर छैनजस्तो लाग्थ्यो । अन्त धेरै देखेकै थिइन । आमाको काखैमा लखनउ, बहराइच, गोरखपुर त गएको हुँ तर मनमा भने विराटनगर नै रह्यो ।
विसं २०२३/२४ सालतिर विराटनगरमा एउटा बस कम्पनी देखा पऱ्यो आराथुन भन्ने । क्या आरामदेही भने कामै नपरे पनि घरीघरी चढी रहुँ जस्तो लाग्ने गर्थ्यो । नयाँ चमचमाउँदा बस थिए । हाटखोला, देवकोटा चोक, ट्राफिक चोक, कलेज, उता तीनपैनी, बरगाछीसम्म पनि लोकलै चल्यो केही दिन । लाग्यो यो सहरले अब काँचुली फेऱ्यो ।
म त्यस्तै १३/१४ वर्षको ठिटो । यस्तै कुरा देख्दै सुन्दै यहाँसम्म आइपुगेँ । अचानक केही महिनापछि आराथुनको लोकल सञ्चालन बन्द भयो ।
फुस्सा भयो !
त्यसपछि त्यही गोडाले तान्ने रिक्साको सवारी सुरु भयो। दुई जना पछाडि बस्ने, एक जनाले तान्नुपर्ने हुन्थ्यो ।
टन्टलापुरको घाम हुनेगर्थ्यो । एकचोटि बूढो रिक्सा चालक थिए म चढेको रिक्साको । उता सिनेमा सुरू हुने बेला भएको थियो । साथीहरू व्ल्याकमा टिकट किनेर कुरेर बसेका थिए । ए रिक्सावाला छिटो हाँक न हौ, पनि भनियो । आज सम्झँदा आफैँलाई क्या ग्लानि हुन्छ । के भन्नु !
ऊ ४० को मान्छे ७० को जस्तो देखिन्छ । आफू भने सरक्क कपाल कोरेर बाबालाई फकाएर १० रू लिएर हिडेको छु सिनेमा हेर्न । सिनेमामा सपनाको सहर देख्न पाइन्छ भन्ने भ्रमले अधैर्य बनाएको छ आफूलाई ।
आज साँच्चिकै सपनाको सहर वासिड्गटन डिसीमा केही समयको लागि बस्न जुरेको छ । यता केही दिन क्या गर्मी भयो गत साता भने मान्छे आत्तिए । यता यस्तै हुँदो रहेछ । तीन महिना असह्य गर्मी हुनुका साथै बेस्सरी हुरी, बतास चल्दो रहेछ ।
फेरि,पाताले दैत्यको अहंकारी हुँकारको डरलाग्दो दृश्यहरू मूर्खको पाटी ( Idiot Box) मा अंग्रेजीमा फलाकी राखेका हुन्छन् दिनभरि । आफू पनि मर्ने भए हामीलाई पनि मार्ने भए भन्ने अनीष्ट कल्पनाले मन चिटचिट गर्छ !
आफूलाई फेरि नेपाल पनि जानु छ, यो मोराले सक्नेभयो भन्ने लाग्छ र झोक्रिएर बस्छु, धेरै बेर ।
के को तरेली लेख्नु ? अब मार्ने भो मोराले भन्ने डरले कता कता चिमोटी रहन्छ ।
इरान, इजरायलको युद्ध चरममा पुगेको छ । अब यत्ति नै रहेछ जिन्दगी पनि नेपालै देख्न नपाइ मरिने भयो भन्ने पनि लाग्छ घरीघरी । बौलाहा दैत्यको के भर ?, क्या हो क्या हो !
अन्त्यमा, हाम्रो विराटनगरमा मात्र होइन, यता पनि त उस्तै त रहेछ नि भन्ने निष्कर्षमा पुग्छु हठात् । गर्मीले गर्दा चरा चुरूड्गी केही देखिएका छैनन् । सुरक्षित शितलमा ओत लागेका होलान् मजस्तै भन्ने लाग्छ ।
देख्छु त केही तन्नेरीहरू भने त्यो घामको प्रचण्ड रापलाई चुनौती दिएर कुदिरहेका छन् । तिनलाई रिक्सावालाको जस्तो बाध्यता त छैन तर सोख छ दौडिने । पगितो खाएर लागेको बोसो पगाल्ने सोख ।
म निस्फिक्री बरण्डाको शीतल छहारीमुनि बसेको छु । सबै दृश्यहरू मेरै आँखा अगाडि घुम्छन्, आउँछन्, जान्छन् ।
सबैतिर सपनै सपना । रंड्गी विरंड्गी सबैको आआफ्नै कथा छ, आआफ्नै व्यथा छजस्तो पो लाग्छ ।
दौडेका छन् दौडेका छन् केका लागि होला भन्ने लाग्छ र आफ्नै सम्झनाको तरेली उन्नतिर लाग्छु ।
विसं २९५८ साल साउनमा बाबा खस्नुभयो । एकदिन अगाडि आमाले फोन गर्नुभयो - बाबु आजै विराटनगर आइज । कस्सो म त्यसै दिन प्लेन चढेर विराटनगर पुगेछु, बाबा त सारै हुनुभएछ ।
म काठमाडौंमा लौरे भिर चढदै थिएँ ।
सोध्नुहोला - यो लौरे भिर भनेको के हो ?
गोसाइकुण्ड जाँदा बाटोमा पर्ने अन्तिम भिर हो लौरे भिर । त्यो पार गरेपछि गोसाइकुण्ड पुगिन्छ ।
जिन्दगीमा थुप्रै आयाममध्येको एउटा यता काठमाडौंमा छोराछोरीको पढाइको चरमचुली उता बाबा विराटनगरमा दिदीको घरमा सिकिस्त ।
मेरो काठमाडौं छोडने स्थिति थिएन । फेरि उही जगजीत सिंहको गजल ‘आए है समझाने लोग ।….
कठिन परिक्षाको घडी र ठाडो उकालो त्यही थियो मेरो लागि जिन्दगीको लौरे भिर ।
आरोह अवरोहको कथालाई छताछुल्ल पारेर केही फाइदा छैन । झन् घाऊ दुख्छ ।
म पुगेकै राति बाबा खस्नुभयो । काठमाडौंमा सक्दो स्याहारेर उहाँकै इच्छाअनुसार विराटनगर जानुभएको हो । मनले सायद हरेस खाइसकेको थियो कि ? फोक्सोमा क्यान्सर रहेछ ।
तेह्रौं दिनको काम सकेर म काठमाडौं आउने भएँ । बस स्टान्डमा बस पर्खिराखेको थिएँ झ्वाट्ट परशु प्रधान देखा पर्नुभयो । म पनि सानोतिनो लेखनदास भन्ने उहाँलाई पनि थाहा रहेछ । बसमा लेखन यात्रा र नेपाली साहित्यका धेरै जाने नजानेका प्रसंड्गहरूमा परशुदाइ र भाउजुसँग बात मार्दै हिँडियो ।
उहाँहरूको ७/८ जानाको टोली रहेछ । हामी दुईमात्र थियौँ । भरखर बाबाको १३ दिन सकेर आमालाई एक्लै दिदीको जिम्मा लगाएर हिँडेको छोरो म र आफू २० वर्षको उमेरकी हुँदादेखि मलाई डोर्याउने मेरी श्रीमती ।
दुई महिलाको मेरो जीवनमा ठूलो योगदान रह्यो । एउटा मेरी जन्मदिने आमा र अर्की मजस्तो हठी मान्छेलाई सहने मेरी श्रीमती ।
त्यो यात्रापछि परशुदाइसँग फेरि मेरो भौतिक भेट भएन । भेटेँ त अस्ति नेपाल गएको वेला पर्यटन विभागको हलमा भएको श्रद्धाञ्जली सभामा एक थुड्गा फूल चढाएर । ती साहित्यका अथक साधकलाई त्यही हो मैले भेटेको २०५८ सालपछि ।
अनि म पाताल पसिहालेँ। मैले विरक्तिएर लेख्नै छाडेको थिएँ । चिनेका साथीभाइले फेरि हौस्याए र यो बुढेसकालमा दोस्रो आयाम सुरु गर्दैछु सरस्वती अर्चनाको ।
त्यो दिन हामी रातिको बस चढ्यौँ । रमाइलो गफ, हँसीमजाक, यताउताका गीतका, कथाका, कथाकारका र सिनेमाको कुराहरू भए । उहाँको टोलीमा मैले विराटनगरमा देखिरहेका तर नामठाम थाहा नभएका महिलाहरू पनि थिए । हँसिला मिजासिला ।
हुँइकिएर बस मुग्लिङ पुग्यो । मजाले भोजन गर्नुभयो उहाँहरूले । तर मैले केही खान मिलेन । बरखी बारेर सेतो लुगा लगाएको देखेर आमाले अँगालो हालेर रूनुभएको दृश्यले पिरोली रहेको थियो ।
राति यस्सो आँखा लागेकोमात्र के थियो काठमाण्डौंबाट ५/६ घन्ट वरै मलाई नाम ठाम केही थाहा नभएको भिरालो ठाउँमा गएर बस रोकियो । त्यहाँ पुगेर अब बस अगाडि जाँदैन यतै बस्नुपर्छ र यो पहिरो कहिले हटछ केही भन्न सकिँदैन भन्ने जानकारी भयो ।
अब घर पुगेर आमालाई फोन गरौँला भनेको त के पुगिन्थ्यो, यतै पो डल्लियो कहाँ हो कहाँ अनकन्टारमा ।
कल्याङमल्याड् सुरू भयो बिहानको ४/५ बजेतिर ।
परशुदाइ एउटा ढिस्कोमा बसेर खुइखुइ गर्न थाल्नुभयो । मेरो पेटमा पनि मुसा कुद्न थाल्यो । चोखो खानुपर्ने । बाटोमा छाइछुइ गर्न नहुने । विराटनगरको परम्परावादी घरमा जन्मेको एक्लो छोरो । मनले पनि लौ न त खाइदिउँ भन्ने सम्झौता गर्न मानेन ।
दिनभरि पहिरो पन्छिन्छ र बस हिँड्छ भनेर एकै ठाऊँमा बसिरह्यौँ ।
चना चटपटे बेच्नेहरू पनि सबै रित्तिएर फर्के । जसले जे पायो बेच्न ल्यायो र सबै बेचेर सक्यो ।
हामीमात्र हो र सयकडौं बसहरू थिए, हजारौं सवारीहरू अलपत्र परेका थिए ।
बिहान ६ बजे पुगेको बस वेलुकीको ५ बजेसम्म कुरेपछि अब रात पर्न लाग्यो परशुदाइले भन्नुभयो - हेर केटा हो यहाँ यसरी बस्नु ठीक छैन । चोरीडकैती, बाघभालु के के हो के के केको कुरा भयो र हामी १०/१२ जनाको टोली पहाडमा बास खोज्न उकालो लाग्यौँ ।
परशुदाइ भोजपुरको मान्छे, यताका सानातिना पहाडले उहाँलाई केही छोएनन् । मभन्दा डेढदुई माइलको फरकमा लमकलमक कता हिँड्नु भो कता ? मैले भेटिन । म ३/४ घन्टा हिँडेपछि म थाकेँ । उहाँहरूले हामीलाई छाडेको भन्न मिल्दैन । मैले उहाँसँग हिँड्न नसकेको भन्नुपर्छ ।
रात धेरै छिप्पिएपछि मलाई डरलाग्यो । पर एउटा छाप्रोमा मधुरो बत्तीको प्रकाश देखेँ र श्रीमतीलाई भने हामी त्यहीँ जाऊँ । दाइहरू त हिँडेरै काठमाडौं पुग्नुभएजस्तो छ ।
छाप्रोभित्र पुगेर मैले सोधेँ - दिदी यहाँ बास बस्न मिल्छ ? ऊनले भनिन् - यस्सो हेर्दा बाहुनजस्तो देख्छु, फेरि बरखी पनि बार्नु भएको रहेछ । हामी त विश्वकर्मा हौँ, कामी क्या हाम्रो त पानी चल्दैन । यहाँ कसरी बस्नुहुन्छ ?
हामीले भन्यौ - दिदी जमाना कहाँबाट कहाँ पुगिसक्यो, यस्तो कुरा गर्नु हुँदैन । हामी यतै बस्छौँ । बस्न दिनुस् । फरासिली दिदी मजाले गफ गर्दिरहेछिन् । हाम्रो पुरातनपन्थी परम्पराको मजाले हाँसो गरिन् ।
यता म भोकले लखतरान भएँ । पहाड भनेको त्यही दन्तकाली पिण्डेश्वर र मनकामना ३/४ चोटी चढेको हुँ, गोसाइकुण्ड पनि गोविन्द तिवारी, कमल दाहाल र रूजा बैनीको पछि लागेर पुगेको हुँ ।
यसरी बिजोगले बास मागेर रात काटेको ठान्दिन । त्यसका लागि म मानसिकरूपमा तयार पनि थिइन । कहाँ रात्रि बस चढेर काठमाडौं हिँडेको मान्छे यो आधाबाटोमा कता हो कता ?
मैले भने - ‘दिदी हामी हजुरको चुलो चलाउँछौँ, एउटा खडकुलो, एउटा थाल र एउटा गीलास दिनुस् न बरू । म त भोकले मर्नै लागेँ ।
मैले मेरी श्रीमतीले चुलामा भात पकाएको देखेको थिइन । चुलोमा फू फू गर्दै आगो जोरिन । धूवाँले आँखा पोलेछ बर खुइखुइ गर्दै भात र आलुको झोल पकाइन् । बास दिने दिदीले सबै सरजाम मिलाई दिइन । रात त्यतै बितायौँ जेनतेन ।
त्यस्तो मिजासिलो मान्छे मैले भेटेकै थिइन । मानिस ठूलो दिलले हुन्छ भन्ने कुराको जीवन्त प्रमाण थिइन् ती दिदी । बिहान ५ / ६ बजेतिर फेरि बाटो लाग्यौँ ।
करिब ३/४ माइल पर पुगेपछि ह्वारह्वार्ती मान्छे देखिन थाले । बाघभालुको डर पनि बिस्तारै हराउन थाल्यो । यस्तै ३-४ घन्टा हिडेंपछि पारिपट्टि त्यही बस कम्पनीले उता काठमाडौंबाट हामीलाई लिन अर्को बस पठाएको रहेछ ।
पर बसहरू त देखिए तर देखियो मात्र त्यहाँ पुग्नै ४/५ घन्टा लाग्यो । मंगलवार विराटनगर छाडेका हामी भोलिपल्ट बुधवार पनि काठमाडौं पुगेनौ ।
यता विराटनगरमा रूवाबासी भएछ । आमाले अनेकौं अनीष्टको कल्पना गर्न थाल्नुभएछ । लौ बरखी बारेको छोरो कता हरायो भनेर खैलाबैला हुनथालेछ ।
बल्ल बल्ल हामी उही कम्पनीको बसमा तेस्रो दिन काठमाडौं पुग्यौँ । बससम्म पुग्दा हाम्रा साथका सबै यात्रीहरू पनि पुगेका रहेछन् । कोही पहिले पुगेछन् कोही पछि पुगे ।
अगाडि सिटमा परशुदाइ र भाउजु पनि बस्नुभएको रहेछ । हामीले यातनापूर्ण यात्रालाई विराम दिने बेला आएको थियो । मैले सोधेँ - दाइले रात कता बिताउनु भयो ?
दाइले त त्यो सबै डांडो छिछोलेर निकैवर बसैनिर आरामको घर भेटनु भएछ । हिँड्न नसक्ने मजस्ता अरू पनि थिए । पहाडमा हुर्केका बढेकासँग हामीले दाँजिनै मिल्दैन ।
हामी सक्दैनौ !
आज परशुदाइ हुनुहुन्न । ती सहयात्री पनि को थिए कता गए, म कसैको नाम ठाम केही सम्झन्न । केबल घटना सम्झन्छु, ती घरबेटी दिदी सम्झन्छु ।
त्यो रात श्रीमतीले पकाएको भात र आलुको झोलको तरकारी सम्झन्छु, त्यो डाडाँकाडाँ सम्झन्छु र सम्झन्छु त्यो त्रासदीपूर्ण एउटा अविस्मरणीय यात्रा ।
तेस्रो दिन राति ९ बजे काठमाडौं पुगेर आमालाई फोन गरेँ - आमा म आइपुगेँ घर ।
आमा बेस्सरी रूनुभयो । के सोच्नुभयो कुन्नि । एउटा भको छोरा पनि .,,…
भन्ने भावना आयो कि ?
यसरी एउटा त्रासद यात्राको पटाक्षेप भएको थियो कुनै दिन…….
(राजमित्र प्राड्गण
माल्डेन, बोस्टन अमेरिका)