site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नगद विदेशी मुद्रा भन्सार घोषणाबिना कति भित्र्याउन पाइन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले भन्सार घोषणाबिना ल्याउन सकिने रकमको सीमाबारे जानकारी गराएको छ । त्योभन्दा बढी रकम भित्र्याउँदा वा बाहिर लैजाँदा अनिवार्य रूपमा घोषणा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सूचना जारी गर्दै नेपाली वा विदेशी नागरिकले नगद अमेरिकी डलर पाँच हजारसम्म वा त्योबराबर अरू विदेशी मुद्रा सहज रूपमा नेपालमा ल्याउन वा लैजान सक्ने व्यवस्थालाई स्पष्ट पारेको हो । यसमा भारतीय रुपैयाँ समेत समावेश हुने उल्लेख छ ।

अर्थात्, अमेरिकी डलर पाँच हजारबराबरको भारतीय रुपैयाँ भन्सार घोषणा नगरी ल्याउन सकिने व्यवस्था छ । तर, योभन्दा बढी रकम ल्याउँदा वा लैजाँदा भन्सार कार्यालयमा खुलाउनु र प्रमाणित गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार, यो व्यवस्था विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ५ र १२ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २९(क)का आधारमा कायम गरिएको हो ।

भारतीय रुपैयाँको प्रयोगसम्बन्धी प्रतिबन्धबारे समेत राष्ट्र बैंकले सचेत गराएको छ । राजपत्रमा उल्लेख भएअनुसार, सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५०० र एक हजारका नोट नेपालमा कारोबारका निम्ति प्रयोग गर्न पाइँदैन ।

यस्तै, भारतीय रुपैयाँ २००, ५०० र दुई हजार दरका नोट समेत नेपाल भित्र्याउन, साथमा राख्न वा कारोबार गर्न निषेध गरिएको छ ।

राष्ट्र बैंकले यसबारेमा सर्वसाधारणलाई सजग रहन आग्रह गरेको छ । राष्ट्र बैंकले भनेको छ, “नेपालभित्र भारतीय रुपैयाँ २००, ५०० र दुई हजारका नोट साथमा राख्ने, ओसारपसार गर्ने वा कारोबार गर्ने कार्य कानुनविपरीत हुनेछ ।”

नेपाली नागरिकले भारतबाहेक अरू मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य देशबाट ल्याउन समेत प्रतिबन्ध कायम रहेको बैंकले स्पष्ट पारेको छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्