तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५, बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, सोमबार (भदौ ९) साँझ नदीले बगाएर बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–१६, मंगलपुरका १७ वर्षीय कृष्ण लामिछाने रहेका छन् ।
प्रहरी नायब उपरीक्षक अशोक थापाले लामिछानेसँगै पौडी खेल्न गएका भरतपुर–१५, फूलबारीका १३ वर्षीय कुशल ढकालको सकुशल उद्धार गरिएको जानकारी दिए ।
उनका अनुसार, स्थानीय सोमबहादुर बोटेले बालक ढकालको उद्धार गरेका थिए । प्रहरी नायब उपरीक्षक थापाले भने, “इलाका प्रहरी कार्यालय देवघाट, प्रहरी चौकी जुगेडी र १७ नम्बर गण आँपटारी चितवनबाट गोताखोरसहितको सशस्त्र प्रहरी टोलीले बेपत्ता बालकको खोजतलास भइरहेको छ, फेला पार्न सकिरहेको छैन ।” रासस