site stats
बाह्रखरी :: Baahrakhari
देश
‘न्याय पाइनँ भने न्यायालयमा नै मर्छु’

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आइतबार ज्ञानबहादुर बम्जन १० लाख धरौटीमा रिहा भए । कास्की जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले बम्जनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

आइतबार इजलासमा बहस चल्दा सरकारी वकिल नै नगएको विषयले अहिले चर्चा पाएको छ । आइतबार बम्जनका वकिलले बहस सुरु गरेका थिए । जबकी थुनछेक बहसमा यसअगाडि सरकारी वकिलले बहस थाल्थे । त्यसपछि जाहेरीवाला, त्यसपछि प्रतिवादी र अन्तिममा फेरि सरकारी वकिलको जवाफी बहस हुने गर्दथ्यो । 

तर, आइतबार सरकारी वकिलले बहसबारे थाहै नपाएको जनाएको छ । अदालतले भने सरकारी वकिल आएर बहस गरेको जनाएको छ । यही बीचमा सोमबार पत्रकार सम्मेलनमार्फत सूर्यदर्शन सहकारीपीडित संघर्ष समितिले आइतबारको आदेशबारे शंका गरेको छ ।

सरकारी वकिलको बहसबिना नै बम्जनलाई छोडिएको हुँदा उक्त आदेश खारेज गरी पुनः पेसीमा चढाउन माग गरेको छ । त्यही पत्रकार सम्मेलनमा उपस्थित थिए, सहकारीका बचतकर्ता सराङकोटका भीमप्रसाद चपाइँ ।

पत्रकार सम्मेलनमा समितिका अध्यक्ष किरण श्रेष्ठले धारणा राखिसकेपछि चपाइँ बोले । भावुक बने, न्याय कहिले पाइन्छ भन्ने प्रश्न राखे, अनि आफू ८० वर्षको उमेरमा पनि रगत बेचिरहेको सुनाए ।

आइतबारको आदेशप्रति उनी पनि सन्तुष्ट छैनन् । मिलेमतो भएको शंका लागेको छ उनलाई पनि ।

उनै चपाइँले राखेका कुराको संक्षिप्त अंश :

सरकारवादी केसमा सरकारी वकिल नै नभइकन एकतर्फी बयान लिएर छाडिदिनु हामीलाई शंका एकदम लागेको कुरा छ । 

यिनीहरूले यस्तो कुरा पहिला मिलाएको रहेछ भन्ने कुरा थाहा भयो । सेटिङबाटै यो काम भएको हो । सरकारी वकिल गएको भए सीसीटीभी पनि होला, हस्ताक्षर पनि होला । सरकारी वकिल पनि आएको थियो भन्ने कुरा झुठा हो अब न्यायालयमा नै यस्ता झुटा प्रमाणहरू, कुराहरू निक्लन्छन् भने हामीले न्याय पाउने कसरी ?

अब सरकारी वकिलले बहसै गर्न पाउँदैन, एकतर्फी बयान लिएर आफ्नो मनोमानी तरिकाले छोडिन्छ दश लाख धरौटीमा भनेदेखि अब हामीले कहाँ गएर न्याय पाउने हो ? अब हामी एक मुठी छउन्जेलसम्म रगत बेचेर पनि यो अन्यायमा पर्न चाहन्नौँ । अन्याय सहनु पनि हाम्रो ठूलो अन्याय हुन्छ । 

म ८० वर्षको वृद्ध हुँदा एक थोपा रगत भए पनि बेच्छु, म त्यही न्यायालयमा गएर मर्छु यो हो, भनेदेखुन । 

अचम्म लागेको छ हामी खारेज गर्न चाहान्छौँ, खारेज होस् हामीलाई सहयोग गर्नुस् । हामी गरिब, दुखी, निमुखा, वृद्धहरू, रोगीहरू हामीले उपचार गर्न पाएका छैनौँ । हाम्रो पैसा खाए यिनले । सेटिङ गरेर सबै मिलेर खाए यतिखेर । 

यिनीहरूको पूर्वयोजना पैसा खाने । व्यक्तिले खाएका छैनन् जुनसुकै राजनैतिक पार्टीका मान्छेहरूले बँडिचुँडी खाएका छन् हेर्नुस् । जुन आउँछ त्यो राजनीतिमा जोडिएको । यस्तो अचम्मको राजनीति म पञ्चायतकालदेखि पहिला राणाकाल पनि भेटियो । तर, यस्तो देखिएको थिएन । 

यो कस्तो न्याय हो ? गरिबलाई कसरी बचाउँछ यो सरकारले ? गरिबलाई मारेर आफूमात्र बच्ने होकी, गरिबको अब त मासु खाए भो । अब हामीलाई बाँच्न कुनै रहर छैन । यिनीहरुले अब हाम्रो मासु काटेर खाए हुन्छ । तीन वर्ष भयो न्यायका लागि लडेको लड्यै छौँ । खाएका छैनौँ, भोको, तिर्खा पेट हिँडेका छौँ न्याय पाउँछौँ की भनेका छौँ हिडेका छौँ । झन पछि पछि न्यायालय नै सेटिङमा फस्छ भने कसरी पाउने न्याय ? 

मलाइ त शंका लाग्छ की जीबी राई पनि यिनीहरूको सेटिङभित्र छन्, लुकाएका छन् । न्यायालय अथवा यहाँका जुन चाहिँ खाने खन्चुवाहरू छन् यिनीहरूले नै लुकाएका छन् । न लुकाएको भए यिनीहरूले नै मार्छन् । म वृद्ध हुँ यस्तो राजनीति यस्तो न्याय मैले अहिलेसम्म भेटेको थिइनँ । गरिबको पैसा खाएर कतिदिन पुग्ला, यिनलाई कति पैसाले पुग्छ ? जुन सहकारीमा गए पनि राजनैतिक मान्छेहरू । नेताहरू आलोपालो खाएर ढाँडिएर नपुगेर अझ न्यायालयलाई समेत किन्ने यो अन्याय भयो । देखेको कुरा यही हो । पूर्वयोजनालाई हिनामिना पारेका हुन् जसरी हुन्छ हाम्रो पैसा चाहियो ।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  २१:०२
प्रतिक्रिया दिनुहोस्