site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
माइतीघरमा हामी कहाँ ओर्लिने हाकिम साप !

झ्यालछेउ बसेको मलाई लाग्यो, अब ठोकिन्छ दुवै बस ! तत्कालै एउटा थोरै बायाँ मोडियो र म बसेको बस दायाँ । धन्न ठोकिएन !

तर, गाडीको गति कम थिएन । दुवै बसका चालक तँछाड मछाड गर्दै अगाडिको पेसेन्जर बटुल्न दगुर्दै थिए ।

यो एक दिनको मात्र घटना होइन, सार्वजनिक यातायातमा यात्रारत हरेक यात्रुले दैनिक भोग्दै आएको अवस्था हो । समयमा अफिस पुग्नुपर्ने चटारो सबैलाई हुन्छ । त्यसैले सबै मौन रहन्छन् । यद्यपि, दुई बसका चालकको हारालुछले मनमस्तिष्क लुछिरहे पनि !

अन्य कम्पनीका यातायातमा कस्तो हुन्छ थाहा छैन, तर मूलपानी, बाबाचोक, गोठाटार, मानटार, खहरे हुँदै रत्नपार्कसम्म दौडिने र त्रिपुरेश्वर, थापाथली हुँदै फर्किने नेपाल यातायातको बसमा यात्रा गर्नेले प्रायः यस्तो भोग्दै आएका छन् ।

भन्नलाई त एउटै कम्पनीको बस भनिन्छ, नेपाल यातायात । तर, तिनको यो भिडन्तले स्पष्ट देखाउँछ, एउटा बस एकजना साहुको र अर्को अर्का साहुको भन्ने ।

के सार्वजनिक यातायात भनेको यस्तै हुन्छ ? यात्रु बटुल्ने निहुँमा बसमै बसेका यात्रुलाई सास्ती दिने काम होइन र यो, यातायातको ? हैन भने नेपाल यातायातको एउटा नम्बर र अर्को नम्बरको बसका बीचमा त्यति साह्रो हानथाप त नहुनुपर्ने हो !

निश्चित समयमा पहिलो विन्दुबाट बस खुले पनि जडीबुटी, कोटेश्वर, तीनकुने र बानेश्वरको जामले तिनलाई त्यसरी किन तताउँछ र यस किसिमको हारालुछ गर्छन् ? यता सरोकारवालाको ध्यान गएको खासै देखिएको पाइँदैन ।

गएको साता मंगलबार बिहान पनि त्यस्तै भयो । ७०१ नम्बरको बस र एउटा अर्को नम्बरको नेपाल यातायातको बसबीच हानथाप नै भयो । अनि, तिनको हानथापमा यात्रुले छिटो ओर्लिदिनुपर्ने ! जबकि, बस बिसौनीमा रोकिएपछि मात्र यात्रु ओर्लिने र उक्लिने गर्नुपर्ने होइन र ?

ती दुई ड्राइभरको हानथापमा जोखिम यात्रुले व्यहोर्नुपर्ने ? यता कसैले ध्यान पुर्‍याउनुपर्ने होइन र ?

सार्वजनिक यातायातमा यात्रा गर्ने हरेक यात्रुले यस्ता सास्ती भोग्दै आएका छन् । यो पंक्तिकारले त प्रायः दैनिक भोग्दै आएको छ । यो अप्ठ्यारो कहाँ भन्ने, कसलाई भन्ने ?

बिहान कार्यालय समयमा कोटेश्वरमा भीडभाड हुन्छ । गाडीबाट ओर्लिने टन्नै हुन्छन्, उक्लिने पनि टन्नै । तर, गाडी बिसौनीमा रोकिँदा रोकिँदै अगाडि भाग्छ, अघिल्तिर उभिएका ट्राफिक प्रहरीलाई देखेर !

बस बिसौनीमा यात्रु ओर्लिन्छन् र चढ्छन् । तिनलाई सकुशल ओराल्न र उकाल्नमा ट्राफिक प्रहरीको हात रहन्न र ?

केही महिनाअघि ट्राफिकले अगाडि अगाडि भनेर औँलो देखाउँदा देखाउँदै कोटेश्वरमा ओर्लिनुपर्ने एक वृद्ध मुनीभैरव मन्दिरअगाडि आएर झर्न बाध्य भए । बस त कोटेश्वरमा रोकिनुपर्ने होइन र ? ती वृद्ध त्यहीँ ओर्लिनुपर्ने होइन र ?

यस्तो सधैँ हुन्छ । खासगरी वयोवृद्धहरूलाई बिसौनीमा ओर्लन सधैँ गाह्रो हुन्छ । झन् दुई बसको हानथापले त बस किन पो चढेँ भन्नेमा पार्छ । आखिर बस बिसौनी किन व्यवस्थित हुन सकेको छैन कोटेश्वरमा ?

फेरि, माइतीघरको पीडा बेग्लै छ । माइतीघरमा बस बिसौनी नै छैन ! कता छ, यो पंक्तिकारले देखेको छैन ।

माइतीघरमा गाडीहरूको लाम हुन्छ, अफिस समयमा । त्यहाँ तोकिएको बस बिसौनी नभएकोले गाडीका चालक, सहचालकहरूले ‘यतै ओर्लिनुस् यतै ओर्लिनुस्’ भन्दै जबरजस्ती ओराल्छन् । त्यसलाई जबरजस्ती नै भन्नुपर्छ ।

अनि त थापाथली, ललितपुर, त्रिपुरेश्वरतिर जाने यात्रुहरू सडक नालीमै ओर्लिन बाध्य हुन्छन् । त्यहाँ ओर्लिएपछि कति कष्टका साथ तिनले यात्रा गर्छन्, त्यो हामीजस्ता भोग्नेलाई थाहा छ ।

adfg-1756101889.jpg
बानेश्वरतिरबाट आउँदा माइतीघरमा ओर्लिने यात्रुहरूको यो दैनिकी हो । यदाकदा सडक खाली पाइएला । अन्यथा, अधिकांशतः त्यहाँ ओर्लिने कलेजका विद्यार्थी हुन्, कर्मचारी हुन् अथवा वृद्धवृद्धा । तिनले यो पीडा भोग्दै आएका छन् ।

आमयात्रुले यो पीडा आजदेखि होइन, निकैअघिदेखि भोग्दै आएका हुन् । तर, यतातिर ट्राफिक प्रहरीको नजर परेकै देखिँदैन । न त अन्य कोही सरोकारवालाको । यता ध्यान पुर्‍याउने त तिनकै जिम्मेवारी होला !

हेर्दा सामान्य लाग्ला यो समस्या, तर एउटा यात्रुका लागि यो ठूलो समस्या हो । त्यहाँ पेटीको व्यवस्था भए जहाँ ओर्लिए पनि पेटीबाट हिँड्न सकिन्थ्यो । त्यहाँ त नाली मात्र छ, पेटी छैन । त्यो नालीमा परेर कतिका खुट्टा मर्किएका होलान्, कतिलाई त्यो कुचुक्क परेको ठाउँबाट हिँड्न गाह्रो भएको होला !

तर आश्चर्य, यो गाह्रोसाह्रोतिर कसैको ध्यान नै छैन । यस्तो लाग्छ, माइतीघरको यो अप्ठ्यारोले कसैलाई छोएको नै छैन, भोग्ने यात्रुबाहेक ।

यस्ता अप्ठ्याराहरूको व्यवस्थापनमा ट्राफिकले ध्यान दिनुपर्ने होइन र ? ट्राफिकका हाकिम सापहरू बसेर अनेक योजना बनाउने बग्गीखानादेखि करिब पाँच सय मिटर दक्षिणमा सर्वसाधारण यात्रुले यो समस्या भोग्दै आएका छन् ।

तथापि, दक्षिणतिर कसैको नजर छैन ! बस बिसौनी र पेटी नै नभएको त्यो ठाउँमा यात्रु कसरी ओर्लिरहेका छन्, कसरी नालानाला हिँडिरहेका छन्, त्यता पनि दृष्टि पुर्‍याउनुपर्ने होइन ट्राफिक प्रहरीले ?

त्यसो भए हामीजस्ता सामान्य यात्रु माइतीघरमा कहाँ ओर्लिने हाकिम साप !

हेर्नुहोस् भिडियो

 

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्