site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनआरटी र पुलिसले अंक बाँडे

काठमाडौं । न्युरोड टिम (एनआरटी) र विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यू–१६ युथ लिगमा अंक बाँडेका छन् । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा एनआरटी र पुलिसले २–२ को बराबरी खेलेका हुन् । 

खेलमा पुलिसले २–० को अग्रता लिए पनि जोगाउन सकेनन् । एनआरटीले भने दोस्रो हाफमा उक्त अवस्थालाई उल्याट्याउँदै बराबरी गरेको हो । खेलको सातौँ मिनेटमा पुलिसका रिजन गौतमले टोलीलाई अग्रता दिलाए । यसको पाँच मिनेटपछि, १२औँ मिनेटमा उनै रिजनले दोहोरो गोल गर्दै अग्रतालाई दोब्बर बनाए । 

खेलको ५१औँ मिनेटमा पुलिसका राजु दर्जीले रातो कार्डको दर्शन गरेपछि टोली १० खेलाडीमा सीमित भएको थियो । त्यसैगरी, एनआरटीका सुनिल घर्तीमगरले पनि रातो कार्डको दर्शन गरेपछि टोली १० खेलाडी सीमित भएको थियो । 

खेलको ६७औँ मिनेटमा एनआरटीका समीर थापाले गोल गर्दै टोलीलाई १–२ को स्थितिमा ल्याए । खेलको इन्जुरी समयमा टोलीका रितिक पँधेराले टोलीको निम्ति बराबरी गोल फर्काए । खेलको इन्जुरी समयमा पुलिसका प्रकाशले पनि रातो कार्डको दर्शन गरेपछि टोली नौ खेलाडीमा सीमित भएको थियो । 

यो नतिजासँगै पुलिसले लिगमा ३५ अंक जोडेको छ । पुलिसले १४ खेल खेल्दा ११ जित, दुई बराबरी र एक हारसहित यो नतिजा आत्मसाथ गरेको हो । नतिजासँगै एनआरटीले पनि लिगमा १४ अंक जोडेको छ । एनआरटीले १४ खेल खेल्दा तीन जित, चार बराबरी र ६ हारसहित यो नतिजा आत्मसाथ गरेको हो ।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १७:०५
प्रतिक्रिया दिनुहोस्