काठमाडौं । देशको आन्तरिक सुरक्षाबारे गोप्यरूपमा सूचना संकलन गर्ने राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) प्रमुख फेरिने भएका छन् ।
विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा विभागको तीनवर्षे पदावधिका कारण अवकाशमा जान लागेका छन् । उनी यही भदौ २८ बाट विभागको मुख्य अनुसन्धान निर्देशकको पदावधिका कारण अवकाशमा जान लागेका हुन् ।
थापा ०७९ भदौ २८ मा गुप्तचर प्रमुखमा नियुक्त भएका थिए । थापाको अवकाशसँगै ०५३ मा अनुसन्धान अधिकृतबाट सेवा प्रवेश गरेका उनकै ब्याचीहरूमध्ये पुन: एकजना नयाँ गुप्तचर प्रमुख हुनेछन् ।
थापाकै ब्याचका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशी र टेकेन्द्र कार्कीमध्ये एकजना नयाँ प्रमुख बन्नेछन् । जोशी अहिले प्रशासन विभागको प्रमुख छन् । कार्की प्रदेश समन्वय विभाग र इन्टिलिजेन्सको नेतृत्व गरिरहेका छन् ।
हाल सिधा प्रधानमन्त्री कार्यालयमार्फत चल्ने गुप्तचर विभागको संरचना देशभर छ । देशभरबाट संकलन हुने सूचना र विश्लेषण गुप्तचर विभागले सिलबन्दी गरेर सिंहदरबारस्थित मुख्यकार्यालयमा पठाउने र सोहीका आधारमा विश्लेषण गरेर मुख्य अनुसन्धान निर्देशकले प्रधानमन्त्री कार्यालयलाई रिपोर्टिङ गर्दै आएको छ ।
गुप्तचर विभागको नेतृत्वभन्दा प्रहरी संगठनका प्रमुख आईजीपी दीपक थापा एक हप्तापछि नै अवकाशमा जाँदै छन् । आईजीपी थापा भदौ १९ मा अवकाशमा जान लागेका हुन् । थापा प्रहरीको ३० वर्षे सेवाहदका कारण अवकाशमा जान लागेका हुन् ।
थापापछि उनकै ब्याचका तर दुई महिनापछि नियुक्ति पाएका एआईजी चन्द्र कुवेर खापुङ एक्ला दाबेदार छन् । उनी छोटो अवधिका लागि आईजीपी बन्नेछन् ।