site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
एनआरएनएको अध्यक्षमा उमेदवारी दिने रोबिन शेरचन तयारी

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्वका लागि उपाध्यक्ष रोबिन शेरचनले उमेदवारी दिने तयारी गरेका छन् । शेरचनले विवाद, गुटबन्दी र राजनीतिक खिचातानीका कारण एनआरएनएको छविमा ह्रास आएकाले सबैलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरेका छन् ।

उनी एनआरएनएको पुरानो गौरव फर्काउन र संस्थालाई शुद्ध परोपकारी अभियानमा फर्काउनुपर्ने अहिलेको मुख्य चुनौती रहेको बताउँछन् । 

"हिजो के भयो, किन विवादित बन्न पुग्यो, गल्ती कसको भन्नेतिर औँला सोझ्याउन थालियो भने यो विवाद कहिल्यै समाधान हुँदैन," उनले भने, "सबै कुरा बिर्सेर आउनुहोस्, एक भएर अगाडि बढौँ भन्ने नयाँ सोचका साथ मेरो दाबेदारी हुनेछ ।"

अदालतमा मुद्दा विचाराधीन भए पनि गैरआवासीय नेपालीका मुद्दाहरूलाई निरन्तरता दिनुपर्नेमा उनको जोड छ । "हाम्रा कयौँ मुद्दाहरू थाती छन्, नागरिकताको टुंगो लाग्न सकेको छैन, लगानीका विषयमा अप्ठेराहरू कायमै छन्," उनले भने ।

उनले आफ्नो पहिलो कार्यकाल सोचेअनुरूप हुन नसकेको पनि स्वीकार गरेका छन् । "संसारभरका साथीभाइमार्फत चुनिएँ, तर आफैँभित्रको खिचातानीले सोचेअनुरूपको कार्य गर्न पाइनँ," उनले भने ।

उनले व्यक्तिगत स्वार्थ र राजनीतिलाई त्यागेर सबैलाई एनआरएनएको विशुद्ध अभियानमा लाग्न आग्रह गरेका छन् ।

जापानमा अतिथि सत्कार व्यवसायमा संलग्न शेरचन पहिलोपटक उपाध्यक्षमा निर्वाचित भएका थिए । उनले मातृभूमिप्रतिको लगाव र संसारभर छरिएका नेपालीलाई एउटै छातामुनि ल्याउने आफ्नो सोच रहेको बताएका छन् ।

एनआरएनएको १२औँ महाधिवेशन आगामी अक्टोबरमा हुने तय भएको छ । महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिनेछ ।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १२:२६
प्रतिक्रिया दिनुहोस्