site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बीवाईडीको स्टलमा किन छ अवलोकनकर्ताको भिड ? (भिडियोसहित)

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा भदौ ३ (मंगलबार)देखि नाडा अटो शो, २०२५ भइरहेको छ । नाडाका अध्यक्ष करण चौधरीका अनुसार, तीन दिनमा ७८ हजार ५१३ जनाले शोको अवलोकन गरेका छन् ।

नाडा अटो शोमा ग्राहक आर्कषित गर्न गाडीको मूल्यमा उच्च छुटदेखि बैंककसम्म घुमाउनेसम्मका योजना ल्याइएको छ ।

एमएडब्लू वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा फ्लाई ट्याक्सी सार्वजनिक गरेसँगै अवलोकनकर्ताको भिड छ । 

उसो त नाडामा सवारी साधान खरिदबिक्रीका लागि सहज गर्न बैंकहरूले पनि स्टल राखेर सहजरूपमा ऋण प्रदान गरिरहेका छन् । नाडा अटो शोलाई लक्षित गरी बैंकहरूले अटो लोन सार्वजनिक गरेका छन् । नाडा अटो शोमा सहभागी बैंकहरूले झन्डै आधारदरमै र न्यूनतम ६.२३ देखि ८.१५ प्रतिशत अटो लोन दिने योजना सार्वजनिक गरेका छन् । बैंकहरूले सहजरूपमा ऋण दिन सहज गरेसँगै सवारी नयाँ सवारी किन्नेको भिड नाडामा देखिन्छ ।

त्यसमा पनि धेरै अवलोकनकर्ताको नजर बीवाईडीमा पर्ने गरेको छ । बीवाईडीको स्टलमा अवलोकनकर्ता झुम्मिरहेका छन् । बीवाईडीले भर्खरै लन्च गरेको एट्टो–१, एट्टो–२ र सिलायन–७ मा अवलोकनकर्ताको भिड लागेको छ ।

नाडामा बीवाईडीले राखेका विद्युतीय गाडीको चर्चा गरौँ । 

सिलायन–७
नाडामा बीवाईडीसले राखेको उत्कृष्ट विद्युतीय सवारी सिलायन–७ हो । नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले साउन ८ गते सार्वजनिक गरेको विद्युतीय एसयूभी ‘बीवाईडी सिलायन–७’ सार्वजनिक गरेको थियो । 

सिलायन–७ दुई फरक क्षमताका ब्याट्री विकल्पमा उपलब्ध रहेको छ । यसमा ७१.८ किलोवाट आवर र ८०.६४ किलोवाट आवरको ब्याट्री अप्सन दिइएको छ । गाडी प्रिमियम र परफर्मेन्स दुई भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रिमियम भेरियन्ट रियर ह्विल ड्राइभ कन्फिगरेसनमा उपलब्ध छ । जसमा ३१३ हर्सपावर पावर र ३८० न्युटन मिटर टर्क उत्पन्न गर्छ । यस भेरियन्टले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन ६.७ सेकेन्ड समय लिन्छ । अर्कोतर्फ, परफर्मेन्स भेरियन्ट अल ह्विल ड्राइभ विकल्पमा आउँछ, जसले ५३० हर्सपावर पावर र ६९० न्युटन मिटर टर्क दिन्छ । यस भेरियन्टले ०–१०० किलोमिटर प्रतिघण्टा गति लिन ४.५ सेकेन्डमात्र लिन्छ ।

BYD-NADA-(2)-1755855595.jpg
 

सिलायन–७ को लम्बाइ चार हजार ८३० मिलिमिटर, चौडाइ एक हजार ९२५ मिलिमिटर र उचाइ एक हजार ६२० मिलिमिटर रहेको छ । यसको ह्विलबेस दुई हजार ९३० मिलिमिटरको छ । गाडीको बाहिरी बनावट निकै आकर्षक छ । यसमा बीवाईडीको लोकप्रिय मोडल ‘सिल’जस्तै हेडलाइट डिजाइन दिइएको छ । क्लोज्ड फ्रन्ट ग्रिल, एग्रेसिभ स्टाइलको बम्पर कट र साइड प्रोफाइलमा १९ इन्चको ड्युअल टोन अलोय ह्विल रहेको कम्पनीले जनाएको छ । साथै, २० इन्चको विकल्प पनि उपलब्ध छ । फ्लस टाइप डोर ह्यान्डल र ब्ल्याक रग्ड क्ल्याडिङले गाडीलाई थप स्पोर्टी बनाएको छ ।

सिलायन–७ को इन्टेरियर पनि अत्यन्तै प्रिमियम रहेको छ । गाडीमा १५.६ इन्चको रोटेटेबल टचस्क्रिन, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, १२ वटा स्पिकरयुक्त साउन्ड सिस्टम, हेड–अप डिस्प्ले र प्यानोरामिक सनरुफ उपलब्ध छ । सिटमा हिटिङ र भेन्टिलेसन फङसन दिइएको छ । ५० वाटको वायरलेस फोन चार्जर, कनेक्टेड कार टेक्नोलोजी र पावर्ड टेलगेट पनि यसमा समावेश छन् ।

सुरक्षाको दृष्टिकोणले पनि सिलायन–७ अत्यन्तै भरपर्दो रहेको कम्पनीको दाबी छ । यसमा ११ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, फ्रन्ट र रियर पार्किङ सेन्सरजस्ता सुविधा समावेश छन् । एडभान्स ड्राइभर असिस्टेन्ट सिस्टम  पनि उपलब्ध छ । जसअन्तर्गत रियर कोलिजन वार्निङ, एडाप्टिभ क्रुज कन्ट्रोललगायत विशेषता छन् ।

नाडामा सिलायन–७ का लागि नाडामा अवलोकनकर्ताको निकै भिड देखिन्छ । यसको मूल्य ७४ लाख ९९ हजार रहेको छ । 

हेर्नुहोस् भिडियो 

बीवाईडी एट्टो–१
बीवाईडीको एट्टो–१ नाडामा अर्को लोकप्रिय सवारी हो । साइमेक्स इंक प्रालिले इलेक्ट्रिक ह्याचब्याक बीवाईडी एट्टो १ दुई साताअघि सार्वजनिक गरेको थियो । 

विश्वव्यापीरूपमा बीवाईडी सिगल, बीवाईडी डल्फिन मिनी अथवा डल्फिन सर्फ भनिने बीवाईडी एट्टो १ नेपालको सहरी इलेक्ट्रिक मोबिलिटीका लागि गेम चेन्जर बन्दै गएको छ ।

यसले वर्ल्ड कार अवार्ड्समा वर्ल्ड अर्बन कार अफ द इयर, २०२५ को उपाधिसमेत पाएको थियो ।

BYD-NADA-(3)-1755855594.jpg
एड्भान्स्ड ई–प्लेटफर्म ३.० मा बनेको र क्रान्तिकारी ब्लेड ब्याट्रीद्वारा सुसज्जित एट्टो १ मा सेल–टू–बडी (सीटीबी) टेक्नोलोजी रहेको छ । 

अहिले यसमा डाइनामिक र प्रिमियम गरी दुई भेरिएन्टका बीवाईडी एट्टो १ ईभी उपलब्ध छन् । डाइनामिकमा ३०.०८ किलोवाट आवरको ब्याट्री छ । यसले सिंगल चार्जमा २३० किलोमिटरको डब्लूएलटीपी रेन्ज दिन्छ ।

प्रिमियममा ३८.८८ किलोवाट आवरको ब्याट्री छ । जसले ३०० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । यी दुई भेरिएन्टको मूल्य क्रमशः २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रुपैयाँ कायम छ ।

बीवाईडी एट्टो–२
साइमेक्स इंकले नाडा अटो शोको पहिलो दिन ‘अल–न्यू बीवाईडी एटो २’ सार्वजनिक गरेको थियो । पहुँचयोग्य अर्थात्, सबैले किन्न सक्ने कम्प्याक्ट इलेक्ट्रिक एसयूभीका रूपमा रहेको यो ईभी रहेको कम्पनीले जनाएको छ ।

नाडाको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली, साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र बीवाईडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य तथा ब्रान्ड इन्डोर्सर अस्मी श्रेष्ठको विशेष उपस्थितिमा एट्टो–२ सार्वजनिक भएको थियो ।

बीवाईडी एट्टो २ लाई युवा व्यवसायी तथा परिवारको जीवनशैलीलाई ध्यानमा राखी डिजाइन गरिएको छ । यस मोडेलमा बीवाईडीको प्रसिद्ध ब्लेड ब्याट्री, स्मार्ट इन–क्याबिन प्रविधि र प्रिमियम कम्फर्ट फिचर समावेश छन् ।

एटो २ कम्प्याक्ट भए पनि ठूलो कारको अनुभव दिने गरी तयार पारिएको छ । यसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ छ । एसयूभीसँगै ७ किलोवाटको वाल–माउन्टेड चार्जरसमेत समावेश गरिएको छ ।

लम्बाइ चार हजार ३१० एमएम, चौडाइ एक हजार ८३० एमएम, उचाइ एक हजार ६७५ एमएम र २६२० एमएम ह्विलबेस भएको एट्टो २ मा २०० एमएम ग्राउन्ड क्लियरेन्स छ । यसले सहर तथा ग्रामीण सडक दुवैका लागि उपयुक्त बनाउने कम्पनीको भनाइ छ ।

BYD-NADA-(1)-1755855594.jpg
 

५१.१३ किलोवाटको ब्लेड ब्याट्रीले सिंगल चार्जमा ३४५ किलोमिटरको ड्राइभिङ रेन्ज दिने क्षमता राख्छ । १०० किलोवाटको मोटरले २९० एनएम टर्क उत्पादन गर्छ र ० देखि १०० किलोमिटर प्रतिघण्टा गति ९ सेकेन्डमै लिन सक्छ ।

सिन्थेटिक लेदर अपहोल्स्ट्री, भेन्टिलेटेड सिट, १२.८ इन्चको रोटेटिङ टचस्क्रिन, एप्पल कारप्ले र एन्ड्रोइड अटोजस्ता सुविधाले क्याबिनलाई स्मार्ट र प्रिमियम बनाएको छ । वायरलेस चार्जिङ, भ्वाइस एसिस्टेन्ट र ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर पनि उपलब्ध छन् ।

एटो २ मा लेभल–२ एडभान्स्ड ड्राइभर एसिस्टेन्स सिस्टम उपलब्ध छ । जसअन्तर्गत अटो इमर्जेन्सी ब्रेकिङ, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, ट्राफिक जाम एसिस्टलगायत फिचर छन् । त्यस्तै, ६ एयरब्याग, ईएससी, टीसीएस, एचडीसी र ३६० डिग्री भ्यू मनिटरसमेत राखिएको छ ।

एट्टो २ बुकिङ गर्ने ग्राहकले एक वर्षको निःशुल्क अटो–प्लस इन्स्योरेन्स, ३.३ किलोवाट पोर्टेबल चार्जर, १० वर्षको विस्तारित वारेन्टी, एसेसरिज प्याकेज र १० वर्षसम्म निःशुल्क बीवाईडी एप कनेक्सन पाउने कम्पनीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १५:२८
प्रतिक्रिया दिनुहोस्