काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० शृंखलामा पाकिस्तान साहिन्सविरुद्ध नेपालका नियमित कप्तान रोहितकुमार पौडेल प्लेइङ–११ मा फर्किएका छन् ।
शुक्रबार डार्विनमा हुने खेलका निम्ति नेपालका मुख्य प्रशिक्षक स्टुवर्ड लले रोहितलाई कप्तानी जिम्मेवारी दिँदै प्लेइङ–११ सार्वजनिक गरेका हुन् । यसअघि रोहितले मेलबर्न रेनेगार्ड्सविरुद्धको खेल गुमाएका थिए । यसअघि रेनेनगार्ड्सविरुद्ध खेलेका भीम सार्की, साहब आलम र रुपेश सिंहले भने यो खेलमा स्थान बनाउन सकेनन् । उनीहरूको स्थानमा रोहितसँगै आसिफ शेख र सन्दीप लामिछानेले स्थान बनाएका छन् ।
नेपाल आज पहिले फिल्डिङमा उत्रिएको छ । खेलअघि भएको टस जितेर पाकिस्तान साहिन्सका कप्तान इर्फान खानले ब्याटिङको निर्णय लिँदै नेपाललाई बलिङको निम्तो दिएका हुन । पाकिस्तान साहिन्स पाकिस्तानको ‘ए’ क्रिकेट टिम हो ।
नेपाली टिमः
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, लोकेश बम, कुशल भुर्तेल, नन्दन यादव, आरिफ शेख, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने र आसिफ शेख
