काठमाडौं । गुन्डागर्दीको दुनियाँमा चर्चित नाम हो, राजु गोर्खाली । जीवनको करिब आधाजसो समय गोर्खालीले अड्डा–अदालत र जेल जीवन भोग्दै बिताए ।
उनी उमेरले ५० नाघिसकेका छन् । तर, पक्राउको क्रम अझै रोकिएको छैन । गोर्खाली हाल प्रहरीको थुनामा छन् । काठमाडौं प्रहरीको टोलीले गोर्खालीलाई भदौ १ गते थानकोटबाट पक्राउ गरेको थियो ।
यो पटक गोर्खाली यसअघि जस्तो धाकधम्की तथा गुन्डागर्दीको आरोपमा पक्राउ परेका भने होइनन् । बैंक खातामा रकम नहुँदा नहुँदै पनि टीकाराम तिवारीलाई १० करोडको चेक दिएपछि उनी प्रहरी फन्दामा परेका हुन् ।
प्रहरीका अनुसार, जग्गा कारोबारी गोर्खाली र तिवारीबीच आर्थिक कारोबार भएको थियो । त्यही क्रममा गोर्खालीले तिवारीलाई १० करोडको चेक थमाएका थिए, बैंकमा रकम नभए पनि ।
त्यसपछि तिवारीले ‘चेक वाउन्स’मा प्रहरीमा उजुरी दिएपछि गोर्खाली पक्राउ परेका हुन् । हाल उनी जिल्ला प्रहरी परिसरको थुनामा छन् ।
प्रहरीले उनीमाथि बैंकिङ कसुरको मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । २०४० सालदेखि राजु गोर्खालीले अपराधको केन्द्र राजधानीको चाबहिल क्षेत्रलाई बनाएका थिए । सुुरु–सुरुमा गिटी–बालुवाको अवैध व्यापारमा संलग्न गोर्खालीले अकुत सम्पत्ति कमाए ।
गिटी–बालुवा हुँदै व्यवसायमा हात अघि बढाएका गोर्खालीले रात्रिकालीन व्यवसाय रोजे । २०५० पछि उनी काठमाडौंमा डान्सबारदेखि डिस्कोहरू खोल्न थाले । २०५९ सम्म सञ्चालित दरबारमार्गको रोयल डिस्को उनैले चलाएका थिए ।
गोर्खालीको डिस्कोमै भएको खुकुरी हानाहान घटनामा राकेश लिम्बूको ज्यान गयो । आफ्नोभन्दा लिम्बूको बेबिलोन डिस्को बढी चलेको भन्दै गोर्खाली समूहले लिम्बूसँग दुस्मनी साँधेर खुकुरी प्रहार गरेका थिए । उनी त्यही ज्यान मुद्दामा करिब ६ वर्ष जेल बसे ।
तर, गोर्खालीको आपराधिक मनोवृत्तिमा परिवर्तन भएन । उनी जेलमुक्त भएर फर्किएपछि पनि पटक–पटक पक्राउको शृंखला रोकिएन । पछिल्लो समय ०७५ मा काठमाडौं मलका व्यवसायीलाई धम्क्याएरै धेरै भाडा असुली गरेको अभियोगमा समेत गोर्खाली पक्राउ परे ।
पछिल्लो समय उनी सिन्धुपाल्चोक कांग्रेसबाट राजनीतिमा समेत सक्रिय हुन थालेका थिए । गोर्खाली अवैध ठेक्कापट्टा, अवैध रकम असुली, मिटरब्याज तथा ज्यान मार्ने उद्योगमा पटक–पकट पक्राउ पर्दै छुट्दै आएका छन् ।
प्रहरीको रेकर्डअनुसार, गोर्खालीविरुद्ध हालसम्म आठवटा कसुरमा मुद्दा चलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपील बोहराका अनुसार, गोर्खालीविरुद्ध सार्वजनिक अपराधसहित ज्यान मुद्दा गरी आठवटा मुद्दा चलेको रेकर्ड प्रहरीमा छ ।
गोर्खालीविरुद्ध पहिलोपटक २०४९ सालमै मुद्दा चलेको रेकर्ड छ । उनीविरुद्ध माइला तामाङले गत पुस ७ गते धाकधम्की दिएको भन्दै प्रहरीमा उजुरी दिएको देखिन्छ । उक्त उजुरीका आधारमा प्रहरीले पक्राउ गरी गोर्खालीलाई अभद्र कसुरमा मुद्दा चलाएको देखिको छ ।
त्यसपछि २०५५ वैशाख र त्यही वर्षको चैतमा पनि गोर्खालीविरुद्ध काठमाडौं प्रहरीले मुद्दा चलाएको थियो ।
त्यसपछि पनि गोर्खालीको पक्राउको क्रम रोकिएन । उनी २०५९ सालमा ज्यान मुद्दामै पक्राउ परी जेल पुगे । ज्यान मुद्दामा ६ वर्ष जेल बसेर छुटेका गोर्खाली पुनः २०६६ जेठ र असारमा लगातार गुन्डागर्दी तथा अभद्र कसुरमा पक्राउ परे ।
त्यसपछि उनी पुनः २०७४ र २०७५ मा समेत अभद्र व्यवहारको कसुरमै पक्राउ परे । गोर्खालीको पक्राउको क्रम भने निरन्तर देखिन्छ । पछिल्लो पटक भने उनी करिब सात वर्षपछि मात्रै पक्राउ परेका हुन् ।
