site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
काठमाडौंदेखि वीरगन्जसम्म पोडवे चलाउन बोर्डमा प्रस्ताव, ७१ अर्ब लाग्ने

काठमाडौं । काठमाडौं पोडवे कम्पनी प्रालिले काठमाडौंदेखि हेटौँडा हुँदै वीरगन्जसम्म ९७ किलोमिटर लामो पोडवे यातायात सञ्चालन गर्न लगानी बोर्डमा प्रस्ताव पेस गरेको छ । पोडवे यातायात सञ्चालन गर्न ७१ अर्ब रुपैयाँ लाग्ने कम्पनीको प्रस्तावमा उल्लेख छ ।

पोडवे सञ्चालन गर्न कम्पनीले एक साताअघि प्रस्ताव पेस गरेको लगानी बोर्डका प्रवक्ता एवं सहसचिव प्रध्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । कम्पनीका सञ्चालकले बुधबार (भदौ ४) पोडवेको सम्भावना र लगानीबारे बोर्डमा प्रस्तुति दिएका उनले बताए ।

चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले पोडवेलाई यातायातका रूपमा विकास गर्ने योजना ल्याएको छ । “प्रारम्भिक प्रस्ताव मात्र आएको हो । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउन बाँकी नै छ,” उनले बाह्रखरीसँग भने ।

उनका अनुसार, हेटौँडादेखि काठमाडौंसम्म पुरानो रोपवेको लाइनबाटै पोडवे सञ्चालन गर्ने कम्पनीको योजना छ । हेटौँडादेखि वीरगन्जसम्म नयाँ बाटो बनाउनुपर्ने हुन्छ । हेटौँडादेखि वीरगन्जसम्म राजमार्गको माथिबाट पोडवे चलाउने योजना छ ।

नेपालमा पोडवे नयाँ प्रविधि भएकाले पूर्वाधार बनाउन आर्थिक, प्राविधिक, वातावरणीय र सामाजिक पक्षको अध्ययन गर्नुपर्ने उनले बताए । पोडवेको अध्ययन गर्न दुई वर्ष लाग्ने कम्पनीले जानकारी गराएको उनको भनाइ छ ।

लगानी बोर्डको अब बस्ने बैठकमा पोडवेको सम्भाव्यता अध्ययननिम्ति प्रस्ताव पेस गरिनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बोर्ड बैठकबाट अनुमति दिइएपछि कम्पनीले पोडवेको सम्भाव्यता अध्ययन थाल्ने योजना छ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा रोपवेको विकल्पमा पोडवे सञ्चालनका निम्ति आवश्यक अध्ययन गर्न बजेट विनियोजन गरेका थिए । सरकारको योजनाअनुसार काठमाडौं पोडवे कम्पनीले लगानी बोर्डमा प्रस्ताव पेस गरेको हो ।

०८१ असोजमा आयोजित एक कार्यक्रममा तारमा आधारित उक्त प्रविधि नेपालमा सञ्चालन गरिए सार्वजनिक यातायातमा क्रान्ति नै हुने काठमाडौं पोडवेका सञ्चालक निल भट्टराईले बताएका थिए ।

उनको कम्पनीले काठमाडौंको गोणर्केश्वर नगरपालिकामा पोडवे सञ्चालननिम्ति आवश्यक अध्ययन गरिसकेको छ । सडक तथा नदी करिडोरमा पोडवे निर्माण गर्न सकिने अध्ययनबाट देखिएको छ । 

यातायातको असुविधा रहेको काठमाडौं उपत्यका र अरू सहरी क्षेत्रमा यो प्रविधि उपयुक्त विकल्प हुन सक्ने देखिएको भट्टराइले त्यति बेला बताएका थिए । सरकारले आवश्यक नीति तयार गरी अनुमति दिएको खण्डमा बढीमा तीन वर्षभित्रै काठमाडौं उपत्यकामा पोडवे सञ्चालन गर्न सकिने उनले जिकिर गरेका थिए ।

कम्पनीले काठमाडौं उपत्यकाभित्रका पालिका जोड्ने गरी पहिलो चरणमा १०० किलोमिटरमा पोडवे सञ्चालननिम्ति प्रारम्भिक अध्ययन गरिएको जनाएको छ । चक्रपथ, कौशलटार–नैकाप, बूढानीलकण्ठ–कीर्तिपुर, तारकेश्वर–टोखा हुँदै चक्रपथ, रत्नपार्क–बानेश्वर, चक्रपथ, गोकर्णेश्वर–बौद्ध–आरुबारी–दक्षिणढोका क्षेत्रसम्म उक्त प्रविधि विस्तार गर्न सकिने अध्ययनबाट देखिएको छ ।

कर्णाली प्रदेशमा सुर्खेत–हुम्ला (लिमी)सम्म २३१ किलोमिटर लामो पोडवे सञ्चालन गर्न सकिने गरी पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ ।

गत वर्ष तत्कालीन अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेटमा पृथ्वी राजमार्गको विमलनगरदेखि गोरखाको लिगलिगकोट–भच्चेक–बारपाक–बुङकोट–गोरखाबजार–मनकामना–बेनीघाटसम्म पोडवेको सम्भाव्यता अध्ययन र लगानी ढाँचा तय गरी निर्माण अगाडि बढाउने भनिएको थियो ।

के हो पोडवे ? 
पोडवे तारमा आधारित उन्नत यातायात प्रविधि हो । यो केबलकारको विकसित स्वरुप हो । यसलाई रेलको पछिल्लो र अत्याधुनिक संरचनाका रूपमा लिइन्छ । सार्वजनिक यातायातका क्षेत्रमा विकास गरिएको नयाँ प्रविधिका रूपमा यसलाई लिइएको छ ।

हाल यूएई र बेलारुसले पोडवे सञ्चालन गरिरहेका छन् । भारतमा पनि सञ्चालनका क्रममा छ । बिजुलीको प्रयोग गरी यो सञ्चालन गर्न सकिने भएकाले पेट्रोलियम पदार्थको आयातमा वार्षिक रूपमा खर्च हुने ठूलो विदेशी मुद्रा जोगिनेछ ।

मेट्रोरेलको जस्तै सुविधा दिने पोडवेको गति प्रतिघण्टा १५० किलोमिटरबराबर हुने जनाइएको छ । भारतमा सञ्चालित रेलको गति १०० किलोमिटर प्रतिघण्टाबराबर छ ।

पोडवे सञ्चालननिम्ति छुट्टै ट्रयाक आवश्यक पर्छ । स्वचालित प्रविधिमा आधारित भएकाले पनि यसनिम्ति छुट्टै मार्ग निर्माण गर्नुपर्ने हुन्छ । यात्रु चढाउन र ओराल्न आकाशे पुलजस्तै संरचना तयार गर्नुपर्छ । केबलकारमा जस्तै पोडवे स्टेसनमा रोक्ने तथा झर्ने समयमा स्वचालित सुविधा हुन्छ ।

एउटा पोडमा एकपटकमा ४२ यात्रुले यात्रा गर्न सक्छन् । एक घण्टाको समयमा ५० हजारजनाले आवतजावत गर्न सक्ने यसको क्षमता हुन्छ । यसबाट समयको बचत हुने र बिजुलीबाट चल्ने भएकाले वातावरण संरक्षणमा योगदान पुग्ने बताइएको छ ।

सरकारले ०८० मंसिर ७ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी पोडवे, स्काई रेल, स्काई ट्रलिबस, जलमार्गलगायत वैकल्पिक यातायातसम्बन्धी नीति, कानुन, मापदण्ड कार्यान्वयन गर्ने उल्लेख गरेको छ ।

लुम्बिनी विकास कोषले ०८० मंसिर २५ गते काठमाडौं पोडवेसँग विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) यथाशीघ्र पेस गर्न आग्रह गरेको थियो ।

लामो अध्ययनपछि विश्वमा सन् २०२० मा मात्र यो प्रविधिले मान्यता पाएको हो । यसबाट एकपटकमा ४८ टनसम्म सामान ढुवानी गर्न सकिन्छ ।

यो सेवा निर्माणमा केबलकारभन्दा निकै सस्तो पर्न जान्छ । केबलकार निर्माण लागतको ५० प्रतिशत, मेट्रोरेलको चार र मोनोरेलको २० प्रतिशतमा पोडवे बनाउन सकिन्छ । १०० किलोमिटर पोडवे निर्माणमा करिब ४० अर्ब रुपैयाँबराबर खर्च हुने अनुमान गरिएको छ ।

भौतिक मन्त्रालय बाधक बन्दा गोसाइँकुण्ड हिल्सको प्रस्ताव अलपत्र 
लगानी बोर्डले निजी क्षेत्रमार्फत काठमाडौंदेखि प्रादेशिक राजधानी हेटौँडा रज्जुमार्ग (रोपवे) सञ्चालन गर्ने योजना अघि बढाएको थियो । तर, त्यही रोपवेलाई वाग्मती प्रदेश सरकारले पुनर्निर्माण गर्ने योजना सार्वजनिक गरेको थियो ।

काठमाडौंदेखि हेटौँडासम्म रोपवे पूर्वाधार निर्माण तथा सञ्चालननिम्ति गोसाइँकुण्ड हिल्सले ०७९ मा बोर्डमा प्रस्ताव पेस गरेको थियो । कम्पनीले हेटौँडादेखि काठमाडौंसम्म ४२ किलोमिटर लामो रोपवे निर्माण तथा सञ्चालनको प्रस्ताव पेस गरेको थियो ।

कम्पनीले त्यहाँ रोपवे पूर्वाधार बनाउन साढे २१ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमानित लागत समेत पेस गरेको थियो । हिल्सले जापानी कम्पनीसँगको साझेदारीमा बनाउने तयारी गरेको थियो ।

हेटौँडादेखि काठमाडौंसम्म निजी लगानीमा रोपवे बनाउने योजना रोकिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सकारात्मक नभएपछि परियोजनाको प्रारम्भिक काम रोकिएको हो ।

गोसाइँकुण्ड हिल्सले पहिलो बटम स्टेसन राख्न प्रस्ताव गरेको हेटौँडाको चौकीटोलमा भौतिक मन्त्रालयले भेहिकल फिटनेस सेन्टर बनाउन लागेपछि रोपवे अलपत्र परेको हो । गोसाइँकुण्डले पनि पहिलाको रोपवे संरचना हटाएर त्यहीँबाट नयाँ सञ्चालनको प्रस्ताव गरेको थियो ।

अमेरिकाको आर्थिक तथा प्राविधिक सहयोगमा २०२० सालमा हेटौँडा–काठमाडौं सामान ढुवानी गर्न रोपवे सञ्चालन गरिएको थियो । तर, प्रभावकारी सञ्चालन हुन नसक्दा ०५६ जेठदेखि यो बन्द छ ।

त्यति बेला हेटौँडाबाट सिमेन्टलगायत अरू वस्तु काठमाडौं आपूर्ति गर्ने गरिएको थियो । ०५९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले रोपवे खारेजको निर्णय गरेपछि पुनः सञ्चालनको सम्भावना टरेको थियो ।

पुरानो रोपवे सञ्चालनको अवस्थामा हेटौँडादेखि फाखेल, सिस्नेरी, इपा पञ्चकन्या, कुलेखानीका स्थानीयले दैनिक खाद्यान्न, तरकारी, लत्ताकपडा, सिमेन्ट, जस्तापाता र औषधिललगायत वस्तु ढुवानी गर्न पाएका थिए । विशेष गरी हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट रोपवेबाट आपूर्ति गर्ने गरिएको थियो ।

१९८२ सालमा राणा प्रधानमन्त्री चन्द्रशमशेरले मकवानपुरको भीमफेदीनजिकको धोर्सिङबाट काठमाडौंको मातातीर्थसम्मको २२ किलोमिटरमा रोपवे सुरुआत गराएका थिए । त्यही रोपवेले धोर्सिङबाट काठमाडौंसम्म सामान ढुवानी गर्थ्यो ।

गाडीबाट हेटौँडा हुँदै भीमफेदी ल्याइएका सामान डिब्बामा लोड गरिन्थ्यो । त्यति बेला सामान ढुवानीलाई सहज बनाउन चन्द्रशमशेरले रोपवे निर्माण गराएका हुन् ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १७:०३
प्रतिक्रिया दिनुहोस्